ताप्लेजुङ / नेत्रविकक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटि सदस्य तथा पुर्व जनसरकार प्रमुख विजयसिंह लिम्बू सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
पार्टीले गठन गरेको जिल्लाको पुर्व जनसरकार प्रमुख समेत रहेका लिम्बूले विप्लब नेतृत्वको पार्टी परित्याग गरि (नेकपा) मा प्रवेश गरेको जानकारी दिए ।
फक्ताङलुङ गाउँपालिका–५, का लिम्बूले बुधबार प्रेश विज्ञप्ति मार्फत विप्लब नेतृत्वको पार्टी परित्याग गरेको जनाउँदै नेकपामा प्रवेश गरेको बताएका हुन् । फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिम्वुले विप्लब नेतृत्वको पार्टीका गतिविधि आफुलाई मन नपरेको र सो पार्टीमा रहँदा पनि सरकार पक्षको निगरानीमा बस्नु पर्ने हुँदा समस्यामा परेकाले परित्याग गर्नुपरेको बताए ।
साउन २१ गते प्रहरीले गिरफ्तार गरेका उनी हिरासतवाट निस्कनासाथ सत्तासिन दलमा प्रवेश गरेका हुन् । उनलाई जिल्ला अध्यक्ष विजय प्रकाश बनेम, प्रदेश सदस्य लक्ष्मी अङछङवो, कार्यालय टिमका सदस्यहरु सन्तोष खतिवडा, सुरज ओझा लगायतले अविर, खादा लगाएर पार्टी प्रवेश गराएका छन् । फक्ताङलुङ गाउँपालिका ५ तापेथोक घरैबाट पक्राउ गरिएका उनलाई प्रहरीले मुद्दा नचलाई छोडेको थियो । फेम्वू पक्राउ भएपछि चन्द समूहले विज्ञप्ति निकालेर उनलाई बिनासर्त रिहा नगरे कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएको थियो । तर विज्ञप्ति निकाल्ने सेक्रेटरी नरपति पौडेल सहित जिल्ला इञ्चार्ज सकल सहितका ताप्लेजुङ र पाँचथरका इञ्चार्ज सहित पाँचजनालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरिसकेको छ । उनीहरुलाई झापाको चन्द्रगढीमा राखिएको प्रहरीले जनाएको छ ।