पथरी /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाले १ नम्बर प्रदेशको नाम किरात राख्न दबाबमुलक कार्यक्रम गर्ने भएको छ ।
मोर्चा केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय कोटेश्वर पेरिषडाँडामा बसेको बैठकले १ नम्बर प्रदेशको नाम किरात राख्न क्रियाशील हुने निर्णय गरेको हो । प्रदेश संसदमा दवाव दिने उद्देश्यले भेटघाट, अन्तरक्रिया, सांस्कृतिक तथा सभाहरु गर्ने निर्णय भएको मोर्चाको अध्यक्ष राजन किराती (बासु)ले बताए ।
मोर्चाले यस अघि पनि नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा बृहत अन्तरक्रिया गर्नुको साथै प्रदेश प्रमुख गोविन्द लिम्बू, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, प्रतिपक्ष दलका नेता र सांसदहरुलाई ज्ञापनपत्र बुझाएको थियो ।
प्रदेशको नाम किरात राख्न छलफल तथा दवाव दिने उद्देश्यले संविधान दिवसको अवसर पारेर असोज ४ गते काठमाडौं र सुनसरीमा किरात सांस्कृतिक सभाको आयोजना गर्ने निर्णय भएको मोर्चाका महासचिव अर्जुन किरातीले जानकारी दिए ।
बैठकले उत्पीडित समुदायको आरक्षण लोक सेवा आयोगले कटौती गरेको प्रति भत्सना गर्दै सामुदायिक अधिकार स्थापनाका लागि हुने आन्दोलनमा मोर्चा सहभागि हुने निर्णय भएको छ । दुई पार्टी एकतापछि किराती मोर्चाको भूमिका र संगठनको कार्यदिशा निर्धारण गर्न प्रतिवेदनसहित नाराकोबारे समेत छलफल भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि रहनु भएको पार्टी केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय संयोजक सुरेश आले मगरले पहिचानको संघर्ष अझै जारी रहेको बताए । उत्पीडित समुदायको अधिकार स्थापनाको लागि पार्टी भित्र अन्तर संघर्ष जारी रहेको बताए ।