बिर्तामोड/ झापा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँचथर र ताप्लेजुङ इञ्चार्जसहित ५ जनालाई शनिबार राति दमकबाट पक्राउ गरेको छ ।
दमकको न्यु कञ्चन होटलमा बसिरहेको समयमा १ नम्बर प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दमक र झापा प्रहरीको टोलीले विशेष सूचनाको आधारमा राति १० बजे नेकपाका ५ नेता, कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा सो पार्टीको पाँचथर इञ्चार्ज तथा मेची ब्युरो सदस्य राजु दास, ताप्लेजुङ जिल्ला इञ्चार्ज सकल भनिने सागर लिम्बू, ताप्लेजुङ जिल्ला सेक्रेटरी तथा मेची ब्युरो इञ्चार्ज नरपति पौडेल, ताप्लेजुङ जिल्ला कमिटी सदस्य यम भनिने योगेश लिम्बू र जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको मेची कोशी संयोजक सन्देश भनिने गणेश कार्कीढोली रहेका छन् ।
झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले पक्राउ परेका नेकपा कार्यकर्ताबाट सो पार्टीको जिम्मेवारीसहितको परिचय–पत्र बरामद भएको बताए । प्रहरीले विशेष सूचनाका आधारमा होटलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।