उदयपुर/ अविरल वर्षाले क्षतिग्रस्त भएको पहाडी भेगका सडक मर्मतपछि पुनः सञ्चालनमा आएको छ ।
जिल्लाका पहाडी पालिकाहरूको केन्द्रसम्म पुग्ने गाईघाट–मुर्कुची–पुवारे–लिम्चुङ्बुङ सडक खण्ड मर्मतपछि पुन सञ्चालनमा आएको हो । गत साउन २१ गतेबाट उक्त सडक पूर्वाधार विकास मन्त्रालय १ नम्बर प्रदेश र पालिकाहरूको आर्थिक सहयोगमा सडकको मर्मत कार्य शुरु गरिएको थियो । पुँवारे, टाट्ने र माझखर्क गरी तीन ठाउँबाट एकै साथ तीन ठूला मेसिन प्रयोग गरी मर्मत कार्य शुरु गरिएको थियो ।
वर्षाले सडक अवरुद्ध गरेपछि प्राकृतिक नाकाबन्दीमा परेको लिम्चुङ्बुङ गाउँपालिकाको केन्द्रलाई जोड्ने सडक पुनः सञ्चालनमा आएको हो । गाईघाट–मुर्कुची–पुँवारे–माझखर्क–लिम्चुङ्बुङ सडक खण्डको पुँवारे–माझखर्क–लिम्चुङ्बुङ करिब ४० किलोमिटर दूरीको सडक मर्मतपछि सञ्चालनमा अएको हो । सडक मर्मतपश्चात् सञ्चालनमा आएको पालिकाले जनाएको छ । रौतामाई गाउँपालिका हुँदै जाने सडकमर्मत कार्यमा पालिकाको पनि सहभागिता रहेको पालिकाले जनाएको छ । प्रदेशको गरेको सहयोगभन्दा बाँकी लागेको लागतमा दुई पालिकाले आधा–आधा व्यर्होने गरी सहमति भएको रौतामाई गाउँपालिकाले जनाएको छ ।
विशेष गरी नाकाबन्दीले निम्त्याएको खाद्य सङ्कटको समाधान गर्ने गरी वान वे ट्र्याक खोलेर खाद्य ढुवानी गर्ने उद्देश्यका साथ सडक मर्मत कार्य शुरु गरिएको थियो । सडक मर्मतपश्चात् ट्याक्टर र साना बोलेरो खाद्यन्न लिएर पालिकासम्म पुगेको समितिले जनाएको छ । वर्षाले आधा दर्जन बढी ठाउँमा ठूलो पहिरो गएकाले त्यस ठाउँमा सडक मर्मत गर्न केही समस्या र समय लागेको मुर्कुची–पुँवारे–डिल्लीबर–माझखर्क–लिम्चुङ्बुङ सडक मर्मत उपभोक्ता समितिका सदस्य नेत्रबहादुर कार्कीले बताए । मर्मत शुरु गर्दाको लक्ष्यका साथ पालिकासम्म सडक सञ्चालन गरेको उनले बताए ।
त्यस्तै नाकाबन्दीमै परेको छिमेकी पालिका ताप्ली र रौतामाईको अवरुद्ध सडक पनि सञ्चालनमा आएको छ । मर्मतपश्चात यी जिल्लाका विभिन्न सडकहरू सञ्चालन भएका हुन् । ताप्लीका सबै वडा कार्यालयसम्म अवरुद्ध सडक सञ्चालन गरेको बेतेनी–नुनथला–ईनामे–माझखर्क, नुनथला–रूपाटार–थानागाउँ सडक मर्मत उपभोक्ता समतिका अध्यक्ष तोपबहादुर ठकुरीले बताए । अवरुद्ध सडक मर्मतको लागि पूर्वधार विकास मन्त्रालय १ न. प्रदेश, कटारी नगरपालिका र ताप्ली गाउँपालिकाको संयुक्त ४५ लाख बजेटमा सडक मर्मत कार्य थालिएको समितिका अध्यक्ष ठकुरीले बताए ।
३६ किलोमिटर दूरीको तल्लो सडक बेतेनी–नुनथला–रूपाटार–थानागाउँ–बाँसबोटेसम्म र २८ किलोमिटर दूरीका माथिल्लो सडक खण्ड नुनथला–ओख्ले–ईनामे–माझखर्कसम्म सडक मर्मत भएको उनले बताए । पालिकाको सबै वडा कार्यालयहरूसम्म सडक सञ्चालन भएपछि खाद्य ढुवानी हुन थालेको अध्यक्ष ठकुरीले बताए । विशेष खाद्य ढुवानीकै लागि सडक मर्मत कार्य गरिएकाले अब फर्कँदा सडकको स्तरोन्नति गर्ने उनले बताए । वडा कार्यालयसम्म यातायातको पहुँच पु¥याई खाद्यन्न ढुवानी गर्ने वातावरण तयार पारेको ठकुरीले बताए ।
लामो खडेरीपछि एक्कासी परेको अविरल वर्षाले सडक अवरुद्ध बनाउँदा पालिकाबासी खाद्य सङ्कटमा परेको थियो । सडक मर्मतपश्चात् केही ट्याक्टर र बोलेरोहरूले खाद्यन्न पालिकासम्म पुुर्याएकाले पालिकाबासी खुशी भएको जिल्ला समन्वय समितिका सदस्य बोधबहादुर थापामगरले बताए । कटारी–बेतेनी–नुनथला–ईनामे–माझखर्क र नुनथला–रूपाटार–थानागाउँसम्म ताप्लीले सडक मर्मत गरेकाले केही खाद्य ढुवानी भएपछि पालिकाबासीहरूले खाद्यन्न किनेर खान थालेको मगरले बताए ।
लामो समयसम्म लागेको खडेरीले माथिल्लो भेगका भन्दा पनि तल्लो भेग बेँसी क्षेत्रका बस्तीमा बारीमा लगाएको बीउ समेत नफर्केपछि खाद्य सङ्कट भएको उनले बताए । माझखर्क र सिरवानीसम्म केही दिन अगाडि नै खाद्य ढुवानी हुँदा स्थानीयबासीहरूले चामल किनेर खान थालेको मगरले बताए । सडक खुलेपछि पालिकाबासीहरू उत्साहित भएका छन् ।

































