बिर्तामोड/ बिर्तामोडमा आगामी पुसदेखि क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ ।

दुई वर्षअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृति लिएर भवन निर्माणको काम थालेको ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पुस महिनादेखि सञ्चालनमा आउने भएको हो । स्वास्थ्य मन्त्रालयबाट ३ सय शश्या रहने गरी स्वीकृति पाएको अस्पतालले पहिलो चरणमा एक सय शश्याबाट सेवा सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्रकुमार यादवले बताए । अस्पताल सञ्चालनका लागि चार अर्ब लागत खर्च हुने भएको उनले बताए ।

अस्पतालमा भौतिक संरचना निर्माणको काम डेढ वर्षअघि शुरु भएको थियो । अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र विभिन्न मेसिन तथा उपकरणहरू जडानको काम भइरहेको अस्पतालका डाइरेक्टर डा. यादवको भनाइ छ । क्यान्सर अस्पताल सञ्चालनका लागि ४५ करोडको ३ वटा रेडिएसन मेसिन खरिद गरी जडानको प्रक्रियामा रहेको डा. यादवले बताए ।

‘अहिले हामीले ३ वटा रेडिएसन मेसिन भित्र्याइसकेका छौं, अब ३ महिनाभित्रमा यो मेसिन जडान गर्छौं’ अस्पतालका डाइरेक्टर डा. यादवले भने, ‘प्रदेश नम्बर एक र दुईका क्यान्सरका बिरामीका लागि लक्षित गरेर हामीले अस्पताल सञ्चालनमा ल्याउन लागेका हौं । पुसदेखि हाम्रो अस्पताल सञ्चालनमा आउँछ ।’

क्यान्सर अस्पताल सञ्चालनमा आएसँगै प्रदेश १ र २ मा रहेका क्यान्सरका बिरामीले सहजरूपमा उपचार सेवा पाउने अस्पताल सञ्चालकको विश्वास छ । प्रदेश एक र दुईमा क्यान्सर अस्पताल नहुँदा क्यान्सरका बिरामीले उपचारका लागि अन्य ठाउँ जानुपर्ने बाध्यता रहँदै आएको छ । अस्पताल सञ्चालनमा आएपछि क्यान्सरको उपचारका लागि भारत जानुपर्ने प्रदेश एक र दुईका बिरामीले राहत महसुस गर्ने डा. यादवको विश्वास छ ।

‘प्रदेश एक र दुईमा क्यान्सर अस्पताल नहुँदा धेरै बिरामीहरू भारत जाने गरेका थिए’ डा. यादवले भने, ‘हाम्रो अस्पताल सञ्चालन भएपछि बिरामीले नेपालमै सहजरूपमा उपचार पाउनेछन् ।’