दमक/ इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगरका रेडियोलोजिष्ट डा.सुनिल देव रहेका छन् । प्रहरीले उनलाई लाइफलाइन अस्पताल प्रालिका अध्यक्ष डा.तिलकचन्द्र साहलाई सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपपछि पक्राउ गरेको हो ।

पक्राउ परेका देवलाई प्रहरीले ठगी मुद्दामा दुईपटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बाले बताए । उनले भने, ‘रेडियोलोजिष्ट देवले दश वर्षअघि डा. साहलाई सिटीस्क्यान मेसिन बिक्री गरेको र लेनदेनमा समस्या रहेछ डा. साहको उजुरीका आधारमा उनलाई हामीले नियन्त्रणमा लिएका हौं ।’

पक्राउ परेका रेडियोलोजिष्ट अहिले इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन् । डा. साहले रेडियोलोजिष्ट देवलाई ३२ लाख रुपैयाँ उपलब्ध गराएपछि वान स्लाइस सिटीस्क्यान मेसिन भारतको दिल्लीबाट खरिद गरिदिएका थिए । तर, स्वास्थ्य मन्त्रालयले वान स्लाइसको सिटीस्क्यान प्रयोगमा रोक लगाएपछि डा.साहले सिटीस्क्यान प्रयोगमा ल्याएका थिएनन् ।

स्रोत भन्छ, ‘रोकिएको पैसा मागेपछि डा. साहले देवलाई उल्टै ठगी मुद्दा दर्ता गराएका हुन् । सिटीस्क्यानको मूल्य झण्डै दुई करोड रुपैयाँ पर्ने बताइएको छ । डा. साहले देवको सहयोगमा भारतको एक अस्पतालबाट ५० लाखमा मेसिन खरिद गरेको बताइन्छ ।

वान स्लाइसको सिटीस्क्यान मेसिन प्रयोगमा सरकारले नै रोक लगाएपछि लाइफलाइन अस्पतालका अध्यक्ष डा. साहले वान स्लाइसको एक थान मेसिन लुकाएको स्रोतले जनायो । देवसँग लेनदेनमा कुरा नमिलेपछि उनले उक्त सिटीस्क्यान मेसिन लुकाएका हुन् ।

१० वर्षअघि खरिद गरिएको सो मेसिन अहिले बन्द बाकसमा राखिएको छ । तर, डा. साहले उक्त मेसिन आफूसँग नभएको भन्दै डा. देवलाई ठगी मुद्दा प्रहरी हिरासतमा पु¥याएका छन् । पक्राउ पर्नुको कारणका विषयमा जिज्ञासा राख्दा उनले आफूलाई समेत त्यो विषयमा जानकारी नभएको र बाँकी कुरा इलाका प्रहरी कार्यालय दमकका डिएसपीलाई सोध्नु भन्दै पन्छिए ।

उनले उक्त कुरा क्यामेरामा रेकर्ड नगर्न भन्दै क्यामरा बन्द गर्न पत्रकारलाई निर्देशनसमेत दिए । यता यस विषयमा अस्पतालका मेडिकल डाइरेक्टर डा. भट्टराईसँग जिज्ञासा राख्दा उनले भारतबाट ल्याएको मेसिन प्रयोगविहीन बनेको बताए । उनले भने, ‘वास्तवमै पीडा छ, यो पीडा क–कसलाई सुनाउने सुनाउने निकाय नै छैन ।’