इनरुवा/ एन्थ्रेक्सको जीवाणु फेला परेपछि कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रका बस्तीमा पालिएका घरपालुवा चौपायामा भ्याक्सिन लगाउने तयारी थालिएको छ ।

सङ्क्रमण फैलन नदिन रोगका कारण पशु मरेको क्षेत्र आसपासको तीन किलोमिटर क्षेत्रमा चुना छिटिएकोमा आसपासको बस्तीलाई लक्षित गरी चौपायामा भ्याक्सिन लगाउने तयारीमा जुटेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ ।

पशु डाक्टर मनोजकुमार महतोका अनुसार घरपालुवा पशुलाई मात्र भ्याक्सिन लगाइनेछ । आवश्यक भ्याक्सिन पूर्वमा नभएकाले काठमाडौंबाट मगाइएको र आउनासाथ टोली परिचालित हुने उनले जानकारी दिए । समूह विभाजनको काम भइरहेको बताउँदै महतोले दुई हजार हाराहारी सङ्ख्याका चौपायामा भ्याक्सिन लगाइने बताए ।

भेटेरिनरी कार्यालय इनरुवाले आरक्षमा ठूलो सङ्ख्यामा छाडा चौपाया रहेकाले घरपालुवालाई मात्र भ्याक्सिन लगाइने जनाएको छ । एन्थ्रेक्स मानिसमा समेत सर्नसक्ने भएकाले विशेष गरी सङ्क्रमित क्षेत्रको आसपास र रोग फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्र्दै रोकथामका उपाय अवलम्बन गरिने कार्यालयले जनाएको छ ।

डाक्टर महतोले आफूहरू पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरको रिपोर्टलाई आधार मानी सङ्क्रमित क्षेत्रमा सावधानीसहितको तयारीमा जुटेको बताए । केन्द्रीय ल्यावको रिपोर्ट आउन बाँकी रहेकाले रिपोर्टपश्चात् प्राप्त निर्देशन अनुरूपका उपाय अवलम्बन गरिने महतोले बताए ।

सुनसरी प्रशासन र वराहक्षेत्र नगरपालिकाको कार्यालयले यसअघि नै रोगका विषयमा स्थानीय स्तर र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सचेत र सावधानी अपनाउन भनिसकेको छ । आरक्षको कार्यालयले चरनका लागि खुला छाडिएका चौपाया सम्बन्धित धनीलाई लिएर जान भनेको छ ।