सुनसरी / साठ्ठी लाख रुपैयाँमा इटहरी २ आँपगाछीको १५ धुर जग्गा विक्री गरेकी देवका सिटौलाले ९० लाख रुपैयाँको बैंकको चेक पाइन् । ३० लाख रुपैयाँ पछि फिर्ता गर्ने गरी चन्द्रकान्त (वसन्त) काफ्लेले सिटौलाको नाममा ९० लाख रुपैयाँ चेक थमाए पछि विस्वास गरेर वसन्तले ल्याएको मान्छे गोविन्द दुलालको नाममा जग्गा पास गरिदिइन् । इटहरी २(झ) को कि.न.४९६३ को १५ घुर जग्गा गोवन्द दुलालका नाममा पास गराए पछि इटहरीका चन्द्रकान्त (वसन्त) काफ्ले एका एक सम्पर्क विहीन भए । काफ्लेलेनै दुलालका नाममा जग्गा पास गराएका थिए ।
त्यस पछि नत तोकिएको मितिमा ९० लाख रुपैयाँको चेकनै साटियो । नत काफ्ले सम्पर्कमै आए । ‘त्यस पछि मात्रै म ठगीएको थाहा भयो’ सिटौलाले ब्लाष्ट खवरसँग मोवाइल सम्पर्कमा भनिन् ‘धेरै खोजे पछि उदयपुरमा भेटेर उनीहरुलाई प्रहरीलाई बुझयौं ।’
गत माघ ९ गते काफ्ले मार्फत गोविन्द दुलाललाई जग्गा पास गराएका थिए । त्यस पछि सो जग्गा भगवती दाहालको नाममा आएको देखिन्छ । काफ्ले र दाहाल केही समय देखि सँगै बस्दै आएको सिटौलानै बताउँछिन् ।
यता, सोही जग्गा भगतवीले ४० लाख रुपैयाँमा जग्गा विक्री गर्न ग्राहक खोज्दै आँपगाछीमा आएको र सोही सुचनाको आधारमा वसन्त र भगवती फन्दामा परेका हुन् । प्रहरीको सहयोगमा गाइघाटमा उनीहरुलाई पक्राउ गरी इनरुवा ल्याइएको सिटौलाले बताइन् ।
अहिले इटहरी ९ का ४३ बर्षीय चन्द्रकान्त काफ्ले र इटहरी ५ का ३७ बर्षिय भगवती दाहाल जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा छन् । इटहरी ४ की ४० बर्षिया देवका सिटौलालाई अझै पनि आफ्नो जग्गा फिर्ता ल्याउने वा पैसा असुल गर्ने भन्ने विषयमा छलफलमै छिन् ।
यता, ठगी गरेको आरोपमा काफ्ले र दाहाललाई कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०७३ जेठमा सिटौलाको नाममा रहेको सो जग्गा लोकबहादुर भण्डारी र कमला कार्कीको नाममा धितोमा पास समेत भएको देखिन्छ । अहिले दाहालले आफुलाई तीन लाख रुपैयाँ दिए जग्गा फिर्ता गर्न तयार रहेको बताउन थालेको सिटौलाले ब्लाष्ट खवरसँग बताइन् । काफ्लेसँग पैतिस लाखरुपैयाँमा जग्गा किनेको र त्यस क्रममा खर्च भएको तीन लाख रुपैयाँ दिए जग्गा फिर्ता गरिदिने भन्न थालेको सिटौलाले बताइन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता ज्ञानेन्द्र फुयाँलले यस विषयमा अझै पनि अनुसन्धान बाँकी रहेकोले उनीहरुलाई म्याद थप गरी अनुसन्धान गरिरहेको बताए । प्रहरी श्रोतका अनुसार उनीहरुबाट ठगीएका अन्य व्यक्तीहरु आउन थालेका छन् ।
































