धनकुटा/ साँगुरीगढी गाउँपालिका कार्यालयमा नेपाली काङ्ग्रेस १ नं. क्षेत्रीय समितिले शुक्रबार तालाबन्दी गरेको छ ।
साँगुरीगढी गाउँपालिकास्थित सार्वजनिक सरोकारको आदिवासी जनजाति पार्क थुम्की जाने सडक निर्माण तथा विस्तारमा सम्बन्धित सरोकारवालाहरूको सहमतिमा निर्माण गरिनु पर्नेमा विवाद सिर्जना गरी नेपाली काङ्ग्रेस धनकुटा क्षेत्र नं. १ का सभापति जितेन्द्र रुम्दाली राईलाई आरोप लगाएको भन्दै शुक्रबार काङ्गे्रसले ताला लगाएको हो ।
ताला लगाएसँगै साँगुरीगढी गाउँपालिका कार्यालयमा सुरक्षाको लागि प्रहरी तैनाथ गरिएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नं. १ का सचिव रमेश श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा साँगुरीगढी गाउँपालिकाको न्यायिक समितिका सदस्य तथा कार्यपालिका सदस्य बालकृष्ण राईको उपस्थितिमा बसेको बैठकमा नेपाली काङ्गे्रस क्षेत्रीय कार्यसमिति सभापति जितेन्द्र रुम्दाली राईको निर्देशन र प्रत्यक्ष संलग्नतामा सडक भत्काएको भनी निर्णय गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘जनअधिकारको स्थापना र संरक्षणमा लागिरहने नेपाली काङ्ग्रेस पार्टीलाई सार्वजनिक सरोकारको विषयको विवादमा क्षेत्रीय सभापतिको नाम जोडी जनतासामु बदनाम गर्ने षड्यन्त्रको रूपमा गरिएको हर्कतप्रति नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति घोर भत्र्सना गर्दछ ।’
यस विषयमा गाउँपालिका अध्यक्ष कुमारजङ याक्खाले आदिबासी जनजातिपार्क, सूर्योदय बुद्धविहार जाने सडकको विषयमा भएको विवादलाई समाधान गर्न आफू लागिपरेको र अहिले पनि छलफलमा नै रहेको बताए । उनले आइतबारसम्ममा विवाद समाधान गरी साँगुरीगढी गाउँपालिकाको विकासको लागि सबैलाई एकै साथ लिएर अगाडि बढ्ने बताए ।
त्यस्तै नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली राईले गाउँपालिकाको न्यायिक समितिका सदस्य तथा कार्यपालिका सदस्य बालकृष्ण राईले सार्वजनिकरूपमा माफी नमागेसम्म थप विरोधका कार्यक्रम अगाडि बढाउने बताए ।
आफ्नो व्यक्तिगत तथा नेपाली काङ्गे्रस पार्टीको चरित्र हत्या गरेको भन्दै सभापति राईले गाउँपालिकाको न्यायिक समितिका सदस्य तथा कार्यपालिका सदस्य बालकृष्ण राईले सार्वजनिकरूपमा माफी माग्नुपर्ने बताएका छन् । सर्वसाधारणलाई आफ्नै उपस्थितिमा गलत निर्णय गराएर फसाउने अनि आफूले हस्ताक्षरसमेत नगरी छलफलमा उपस्थित नहुनुले न्यायिक समितिका सदस्य तथा कार्यपालिका सदस्य बालकृष्ण राईको नियतमा नै खोट देखिएको बताए ।
साँगुरीगढी गाउँपालिकाको न्यायिक समितिका सदस्य तथा कार्यपालिका सदस्य बालकृष्ण राईले भने ०७१ सालदेखि कायम रहेको भेडेटार–राजारानी जाने सडकबाट थुम्की जाने शाखा सडक डोजर लगाएर भत्काउने कार्यमा प्रत्यक्ष भूमिका खेलेको आरोप लगाएका छन् ।
राईले पहिले कायम भएको बाटोमा पछि जग्गा लिएर जग्गाधनीसँगको मिलेमतोमा विवाद झिकेको आरोपसमेत लगाएका छन् । तर जग्गाधनी प्रमोद राईले भने आफ्नो नाममा रहेको जग्गाको सडकतर्फको मुखमा दुवैतर्फका सँधियारले बराबरी जग्गा छोड्नु पर्छ भनेर घडेरी सम्याउने क्रममा ३ मिटर सडकछेउको जग्गा छाडेर सम्याएको बताए ।
































