विराटनगर । बर्खायाममै मोरङको खोलामा अवैध रूपमा उत्खनन हुने गरेको पाइएको छ । प्रहरीले बुधबार मोरङको दुई वटा खोलाबाट अवैध रूपमा उत्खनन गरि ढुङगा र बालुवासहित सवारी नियन्त्रणमा लिएपछि यस्तो खुलसा भएको हो ।

मोरङ सुन्दरहरैचा नगरपालिका – ७ गछिया खोलाबाट को १ त ५२९० नम्बरको ट्याक्टरमा बालुवा लोड गर्दै गरेको अवस्थामा प्रहरी चौकी गछीया बाट खटिएको गस्ति टोली नियन्त्रणमा लिएको छ । प्रहरीलाई देख्नासाथ ट्याक्टर छाडी चालक फरार भएका थिए । प्रहरीले उक्त ट्याक्टर आवश्यक करवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङलाई बुझाएको मोरङ प्रहरीले जनाएको छ ।

वर्खायाममा असार र साउन महिनाभरी खोलामा उत्खनन गर्न सरकारले रोक लगाउने गरेको छ । तर, तस्करहरूले यही मौकामा अवैध रूपमा उत्खनन गर्ने गरेको पाइएको हो । यस्तै प्रहरीले सोहि दिन मोरङको केराबारी गाउँपालिका– ७ स्थित खदमखोलाबाट पनि अवैध रुपमा ढुङगा उत्खनन गर्ने क्रममा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरीले को १ त ५९०९ नम्बरको ट्रयाक्टरमा ढुङ्गा लोड गरी लैजादै गरेको अबस्थामा ईप्रका केराबारीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो । यस खोलाबाट प्रत्येक वर्ष अवैध रूपमा उत्खनन् हुने गरेको छ । प्रहरीले गतवर्ष पनि केराबारीको खदमा खोलाबाट दैनिक रूपमा अवैध रुपमा टुङगा, गिटी उत्खनन गरेर लोड गरि गन्तब्यतर्फ जादै गरेको सवारी साधान नियन्त्रणमा लिने गरेको थियो । तस्करहरूले खोलाको ढुङगा, गिटी र बालुवा अवैध रूपमा उत्खनन सुरु गरेपछि प्रहरीको यूनिट नै खोलामा रेखदेख गर्न बसेको थियो ।