वराहक्षेत्र/ वर्षाको पानीले वराहक्षेत्र नगरपालिका–२ मा पर्ने रेल्वे लाइन र जब्दी–मधेशी टोलको सडक खाल्डैखाल्डा बनाएपछि स्थानीय बासिन्दाले सास्ती खेप्नु परेको छ ।
वर्षा हुनथालेपछि सडकमा जमेको पानी घुँडासम्म हुनेमात्र होइन, त्यो पानी बगेर सडक छेउछाउ बनेका घरको दैलोसम्म पुग्न थालेपछि स्थानीय बासिन्दा पानी पर्नासाथ तर्सिन थालेका छन् । वडाको रेल्वे लाइन घर भएकी नरमाया खनालले भनिन्, ‘बाटोभरि हिलैहिलो छ, खाल्डै खाल्डा छ । हिंड्न सकिँदैन । वर्षा हुँदा सडकको पानी घरभित्र पस्छ । के गर्नु ? कसैले केही गर्दैनन् त ? जनप्रतिनिधिलाई गुहार्दा कहिले काहीँ एक दुई ट्याक्टर गिटीमाटो ल्याएर खाल्डो पुरेजस्तो गर्छन् ।’
स्थानीय ८३ वर्षीय वृद्ध केदारनाथ कोइरालाको गुनासो पनि त्यस्तै छ । उनका अनुसार पानीले सडक बिगारेपछि समस्या समाधानको लागि कैयौं पटक कुरा उठाए पनि कसैले सुन्दैनन् । उनले गुनासो पोखे, ‘स्थानीय जनप्रतिनिधिहरू वडा सदस्य, वडाध्यक्षलाई बारम्बार जानकारी गरायौँ तर बाटो मर्मत भएन ।’ उनले समस्या समाधानको सबैभन्दा राम्रो उपाय कलोपत्रे सडकमात्र भएको बताए । उनले कालोपत्रे सडक बनाएमा जग्गा काटेर दिन पनि तयार रहेको बताए । उनले भने, ‘तर कसैले सुनेनन् । गाउँमा आफ्ना कुरा बिक्नेहरू बोल्दैनन् । सर्वसाधारणको मर्का कसले सुनिदिने ?’
पानीले सडक बिगारेर स्थानीय बासिन्दालाई दिएको सास्तीबारे वडा २ का वडाध्यक्ष हरिकृष्ण भट्टराईसँग जिज्ञासा राख्दा आफूहरूले गत आर्थिक वर्षमा वडाको योजनाबाट उक्त सडकमा गिटीमाटो लगाएर खाल्टो पुर्ने र बाटो सम्याउने काम गरेको बताए । उनले भने, ‘तर प्रत्येक वर्षको वर्षाले बाटो बिगारी दिन्छ ।
कच्ची सडकलाई पक्की बनाउने दायित्व नगरपालिकाको हो वडाको होइन तर पनि हामी यसप्रति सजग छौँ ।’ उनले सडकलाई मर्मत सम्भार गर्नका लागि नगरप्रमुख निलम खनालसँग कुरा गरेको बताए । नगरप्रमुख खनालले चक्रघट्टी, कालाबन्जर हुँदै आउने पुरानो कृषि सडकलाई पुनः मर्मत गरेर वडा नम्बर ६ बाङ्गे बजारबाट चतरासम्मको १५ किलोमिटरको पक्की बाटो यसै आर्थिक वर्षमा बनाइने जानकारी दिएको पनि वडाध्यक्ष भट्टराईले बताए ।
































