धरान । राजनीतिक दलहरूसँग परामर्शपछि निर्वाचन आयोगले रिक्त रहेका स्थानीय, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिको उपनिर्वाचन गर्न मङ्सिर १४ गते उपयुक्त हुने सिफारिस गरेसँगै धरानमा निर्वाचनको माहौल तातिन थालेको छ ।

गत बिहीबार निर्वाचन आयोगले सरकारलाई सिफारिस गरे पनि मन्त्रिपरिषद्ले भने मिति घोषणा गर्न बाँकी छँदै दलहरू आन्तरिक तयारीमा लागेका छन् । एक वर्षअघि धरानका प्रमुख तारा सुब्बाको निधन भएपछि मेयरको पद रिक्त रहेको छ । चुनावी तयारीसँगै नेकपा र काङ्ग्रेसमा आकांक्षी उम्मेदवारहरूको लर्को पनि उत्तिकै लामो लागेको छ ।

पञ्चायती व्यवस्थामा समेत धरानमा बामपन्थी उम्मेदवारले आफ्नो वर्चश्व कायम गर्दै आएको बेला यसपटक उक्त वर्चस्वलाई ध्वस्त बनाउन काङ्ग्रेसले सानादलसँग गठबन्धन गर्ने तयारी गर्दै छ । नेकपाले भने पुरानै इतिहासलाई कायम राख्दै बामपन्थी गढको प्रतिष्ठा जोगाउन अनेक तयारी गरिरहेको स्रोतले बतायो । नेकपामा धरान उपमहानगरपालिकाको प्रमुखको दाबेदारहरू जिल्ला सदस्य प्रकाश राई, नेकपा सचिव रमेश बस्नेत, प्रदेश समिति सदस्य मुक्सामहाङ मेन्याङ्बो, प्रदेश समिति सदस्य अइन्द्रविक्रम बेघा, जिल्ला सदस्य चोत्लुङ, प्रदेश समिति सदस्य तथा पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बो, जिल्ला सदस्य पदम इस्वो, नगरअध्यक्ष नारायण सुवेदी, मोती सुनुवार, विजय राईलगायत आकांक्षी रहेका छन् ।

सानादलसँग गठबन्धन गरेर नेकपा उम्मेदवारलाई हराउने रणनीति बनाइरहेको काङ्ग्रेसमा भने धरान काङ्ग्रेस सभापति तिलक राई, जिल्ला सचिव सुजेन्द्र गोले, पूर्वनगरसभापति किशोर राई, महाधिवेशन प्रतिनिधि पर्वत राईलगायत टिकट पाउने ध्याउन्नमा छन् । धरानको प्रमुखको टिकट पाएर उम्मेदवार बन्नेमा ढुक्क रहेका नेकपा जिल्ला सदस्य प्रकाश राईले पार्टीले धरानको विकास निर्माण र पार्टीमा योगदान दिने योग्यहरूको मूल्याङ्कन गरेर उम्मेदवार बनाउनु पर्ने बताए । अर्का आकांक्षी अइन्द्रविक्रम बेघाले आफूले दाबी गरे पनि पार्टीले गर्ने निर्णयमा भरपर्ने बताए । धरानमा अन्य पार्टीको तुलनामा नेकपाको सङ्गठन विस्तार, सदस्यता र बढी र सक्रिय रहेको दाबी गर्दैै उम्मेदवारले पनि सहजै जित्ने चोत्लुङले बताए ।

अर्का आकांक्षी नारायण सुवेदीले भने, ‘उपमहानरपालिकाको प्रमुखको टिकट प्राप्त गर्नका लागि जिल्ला कमिटीले प्रदेशमा तीनजनाको नाम सिफारिस गर्ने र प्रदेशले राय सुझावसहित केन्द्रमा पठाउने भएकाले पार्टीमा योग्य, दक्ष, नेतृत्व क्षमता भएको उम्मेदवारलाई पार्टी केन्द्रले टिकट दिनेछ ।’ धरानमा चुनाव जित्नु काङ्ग्रेसका लागि कठिन मात्र होइन, पराजयको इतिहास नै बनेकाले यसपटक राजनीतिमा प्रयोग हुने सबै उपाय अपनाउने भएको छ । कहिल्यै रच्न नसकेको इतिहास रचेर बामपन्थी गढ भत्काउनकै लागि काङ्ग्रेसले समाजवादी पार्टी, लिम्बुवान, खम्बुवान, जनमुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठनबन्धन गर्ने मेयरका दाबेदार तिलक राईले बताए ।

राई ०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बासँगको प्रतिस्पर्धामा ४ हजार ८ सय ७३ कम मतले पराजित भएका थिए । पार्टीले एकपटक अवसर दिए फेरि मेयरमा उम्मेदवारी दिने सङ्केत गरेका काङ्ग्रेसका नगर सभापति राईले भने, ‘आन्तरिक तयारीमा जुटेका छौं । चुनावमा नेकपाको उम्मेदवारलाई पराजित गर्न सबैखाले रणनीति बनाइरहेका छौं ।’ काङ्ग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि उमेश थापाले मुलुकमै सबैभन्दा बढी क्याडर्स भएको धरान नै भए पनि पार्टीले कार्यकर्ता परिचालन गर्न नसकेकाले जहिल्यै बामपन्थीले जित्ने र काङ्ग्रेस पराजित हुने गरेको बताए । उनले भने, ‘यसपटक सर्वसम्मतले काङ्ग्रेसले उम्मेदवार उठाउनेछ र सबै क्याडरलाई सक्रिय बनाएर चुनावी युद्धमा होमिने तयारी गरिरहेका छौं ।’

काङ्ग्रेसमा महाधिवेशन प्रतिनिधि पर्वत राई पनि टिकट पाउने चाहना राख्नेमा पर्छन् । काङ्ग्रेसमा टिकटको पालो पर्खेर बसेका जिल्ला सचिव सुजेन्द्र गोलेले पनि सर्वसम्मतले एकजना उम्मेदवार खडा गर्ने काङ्ग्रेसले सोच बनाएको बताए । एन्फाका मानार्थ उपाध्यक्षसमेत रहेका किशोर राईले काङ्ग्रेसबाट तिलक राई, सुजेन्द्र गोले र आफूमध्ये एकजनाले मेयरको उम्मेदवारीका लागि टिकट पाउने दाबी गरे ।