धरान । सहकारीको करोडौं रकम अपचलन गरी बेपत्ता बनेका अध्यक्ष कृष्ण विकसँग नियमित सम्पर्कमा रहेकी सहकारीका लेखापाल भैरहवा जाने क्रममा काठमाडौंको नाकढुङ्गामा पक्राउ परेकी छन् ।
धरान–१२ को सल्लेरी बचत तथा ऋण सहकारी संस्थाकी लेखापाल कमला विकलाई नाकढुङ्गामा माइती नेपालले उद्धार गरी आफन्तलाई बुझाएको थियो । उनी अध्यक्ष कृष्ण विकसँग नियमित सम्पर्कमा रहेको र उनैलाई भेट्न जाने क्रममा माइती नेपालले सोधपुछपछि नियन्त्रणमा लिएको थियो । त्यसपछि आफन्तले मोरङको बेलबारीस्थित घरमा पठाएपछि अध्यक्ष कृष्ण विकबाट पीडित बनेकाहरूले घरबाटै उनलाई ल्याई धरानस्थित इलाका प्रहरी कार्यालयमा मङ्गलबार साँझ बुझाएका हुन् ।
इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले पीडितहरूले नै बुझाएपछि सोधपुछ गर्ने काम भइरहेको बताए । प्रारम्भिक अनुसन्धानमा अध्यक्षसँग सम्पर्कमा भएको देखिएको डिएसपी न्यौपानेले जानकारी दिए । अध्यक्ष कृष्ण विकलाई लेखापाल कमलाले धरानमा भइरहेको गतिविधिको सूचना दिने गरेकी थिइन् । त्यसका लागि अध्यक्ष र लेखापाल स्वयम्ले नयाँ फोन नम्बर खरिद गरेर सम्पर्क गर्ने गरेका थिए । अध्यक्ष विकले सहकारीको पासबुक दुरुपयोग गर्दै आफैले धरान–१२ महेन्द्रपथमा सञ्चालनमा ल्याएको शिखर सगरमाथा सुन–चाँदी पसलमा लगानी गरेका थिए ।
असार २३ गते अचानक सम्पर्कविहीन भएपछि सञ्चालक समितिमा रहेका अन्य पदाधिकारीहरूले सोधीखोजी गर्न शुरु गरेका थिए । सहकारीकी उपाध्यक्षसमेत रहेकी विष्णुकुमारी श्रेष्ठसहित १२ जना सदस्यहरूले धरान उपमहानगरपालिकाको सहकारी विकास समितिमा संस्थाको हिसाब–किताब पारदर्शी नभएको भन्दै निवेदन दिएका थिए । सोही निवेदनको आधारमा समितिले टङ्क सुवेदीको संयोजकत्वमा छानबिन टोली गठन गरेको थियो ।
उक्त छानबिन टोलीले सहकारीबाट ऋण सापटीको रूपमा शिखर सगरमाथा सुनचाँदी पसलमा ६८ लाख रुपैयाँ लगेको तथ्य फेला पारेको छ । ‘सुन पसलमा ६८ लाख रुपैयाँ चाहिँ ऋण सापटीकै रूपमा गएको देखिन्छ’ –छानबिन समितिका संयोजक सुवेदीले फोनसम्पर्कमा भने । उनका अनुसार पासबुक दुरुपयोग गरी के कति रकम सुन पसलमा प्रयोग गरिएको हो भन्नेबारे एकिन हुन सकेन । ‘तर बजार हल्ला सुन्दा ५ करोडको हाराहारीमा रहेको देखिन्छ’–उनले भने ।
अध्यक्ष कृष्ण विककै छोरासमेत रहेका प्रबन्धक मोहन दर्नालले ३ करोडभन्दा माथि ५ करोडभन्दा कम नै अपचलन भएको ब्लाष्टकर्मीसँगको वार्तामा बताएका थिए । धरान–१५ का पीडित खगेन्द्र नेपालीले सहकारीमा अलग–अलग पासबुकमा ६ लाख रुपैयाँ, जग्गा दृष्टिबन्धक गरेर १५ लाख रुपैयाँ, १ लाख ८० हजार रुपैयाँ र ४५ हजार रुपैयाँ बचत गरेको बताए । उनले आफूले ३ लाख ७५ हजार रुपैयाँ माग दाबी गरेर जिल्ला अदालतमा साउन ७ गते जग्गा रोक्काका लागि मुद्दा हालेको पनि बताए ।
उनका अनुसार करिब ५–७ करोडको हाराहारीमा हो कि भन्ने बजार हल्ला सुन्नमा आएको छ । धरान–१६ का अर्का पीडित देवीकुमार श्रेष्ठले साढे ४ लाखको हाराहारीमा आफ्नो पैसा फसेको बताए । ‘हिसाब गर्न बाँकी छ, तर ४ लाखभन्दा माथि नै छ’–उनले भने । यसरी फस्ने धरानमा धेरै नै रहेको बताइन्छ । अन्य पीडितहरूले पनि जिल्ला अदालत सुनसरीमा मुद्दासमेत हालिसकेको बताइन्छ । अध्यक्ष कृष्ण विकले शिखर सगरमाथा सुन–चाँदी पसलमा सल्लेरीको पासबुक प्रयोग गरेर रकम राख्ने गरेका थिए ।
जुन हिसाब सल्लेरीमा आएको देखिँदैन । अध्यक्ष विक असार २३ गते बेपत्ता बनेपछि काठमाडौंमा देखिएका थिए । उनले नियमित सुन ल्याउने पसलबाट एकसय ८१ ग्राम सुन बाँकी ल्याएको समेत उनकै छोरा मोहन दर्नालले बताएका छन् । विकको अनुपस्थितिमा श्रीमतीले धरान–१५ मा रहेको घर पनि असार २७ गते एक करोड ५० लाख रुपैयाँमा बिक्री गरेको देखिन्छ । श्रीमान्को अनुपस्थितिमा घर बिक्री भएपछि नै पीडितहरू थप सशङ्कित हुँदै अदालतमा मुद्दा हाल्न पुगेका थिए ।