विराटनगर/ वैदेशिक रोजगारको नाममा ठगीधन्दा मौलाइरहेको बेला लाखौं रूपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
वैदेशिक रोजगारमा पठाउने र पैसा पाएपछि सम्पर्कविहीन भएर ठगी गरेको आरोपमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का राम थारू र सुनसरी वराहक्षेत्र नगरपालिकाका प्रजापति काफ्ले पक्राउ परेका हुन् ।
श्रम तथा रोजगार कार्यालय विराटनगरले पक्राउ पुर्जी जारी गरेपछि थारूलाई काठमाडौंको बानेश्वर र काफ्लेलाई सुनसरीको वराहक्षेत्र ६ बसपार्कबाट प्रहरीले पक्राउ गरी आइतबार श्रम कार्यालयमा उपस्थित गराएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका थारूले आकर्षक तलब हुने लोभ देखाएर विभिन्न देशमा पठाइदिने भन्दै धरानका दुई युवाबाट १७ लाख रूपैयाँ ठगी गरेको बताए । धरान–१५ पिण्डेश्वरी चौकका प्रकाश तामाङ र सुरज श्रेष्ठलाई पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको खुलेको छ । पक्राउ परेका थारूले एजेण्टको रूपमा काम गर्ने गरेको बताइएको छ । उनी बेरोजगार युवाहरूलाई विदेश पठाइदिने भन्दै रकम असुली गर्ने धन्दामा लागेको पीडितहरू बताउँछन् ।
काफ्लेलाई साउन ९ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले र थारूलाई पनि सोही दिन महानगरीय प्रहरीपरिसर काठमाडौंले पक्राउ गरी श्रम कार्यालयमा आवश्यक कारबाहीका लागि पठाएको थियो ।
यस्तै प्रजापतिले १३ जनालाई विभिन्न देश पठाउने भन्दै ७० लाख रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको सञ्जेलले बताए । प्रजापतिका ३२ वर्षीय छोरा आशिषले ग्रीसमा बसेर रोजगारको नाममा ठगीधन्दा चलाएको खुलेको उनले बताए । ‘स्वदेशका युवाहरूलाई आकर्षक तलब र सेवा सुविधा हुने भन्दै स्वदेशमा रहेका युवाहरूलाई विभिन्न प्रलोभन देखाएर आशिषले पैसा असुल गरेको खुलेको छ’ सञ्जेलले भने, ‘विभिन्न देश पठाउने भन्दै त्यसको लागि आवश्यक पैसा चाहिने भएकोले पैसा बाबु प्रजापतिलाई दिने गरेको प्रमाणहरू पनि फेला पर्यो ।’
ठगी गर्ने आशिषलाई पक्राउ गरी स्वदेश फर्काउन राजदुतवासमार्फत् पत्राचार गरिसकेको श्रम अधिकृत सञ्जेलले जानकारी दिए । काफ्लेले नजिकका छिमेकी युवाहरू र सुनसरी जिल्लाकालाई बढी ठगी गरेको खुलेको छ । सिङ्गापुर, ग्रीसलगायत विभिन्न देशहरू पठाउने भन्दै पीडितहरूबाट २ लाखदेखि १३ लाख रूपैयाँसम्म ठगी गरेको भन्दै श्रम कार्यालयमा उजुरी गरेका छन् ।
पीडितमध्येका उदयपुर घर भई मोरङको सुन्दरहरैंचाका गिरिराज सुवेदीले राम्रो कमाइ हुने र नियमपूर्वक जर्मनी जान पाउने भन्दै प्रलोभनमा पारेर आफूसँग आशिषले ५ लाख रुपैयाँ लिएको बताए । ‘अझै पनि जर्मनी पठाइदिन्छु, कहीँ पनि उजुरी नगर्नू भनिरहेका छन्’ उनले भने, ‘हामीले पैसा माग्दा फिर्ता दिन मानिरहेका छैनन् ।’
शुरुमा विश्वासका भरमा घर बेचेर पैसा दिएको उनले सुनाए । पछि विदेश पठाउने कुनै जानकारी नपाएपछि आफू ठगिएको चाल पाएर उजुरी गरेको उनले बताए । ‘जर्मनी जान १३ लाख भनेकोमा पाँच लाख दिएको थिएँ’ उनले भने, ‘ठगिएको थाहा पाएपछि माग्दो ३ लाख फिर्ता दिएको छ । अझै २ लाख रूपैयाँ पाउन बाँकी रहेको छ ।’
पीडितहरूले काफ्लेबाट ठगिएको थाहा पाएपछि विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा उजुरी गरेका हुन् । पीडितहरूले पैसा फिर्ता पाउनु पर्ने र दोषीमाथि कारबाही हुनुपर्ने माग राखेर १३ जनाले ७० लाखकोे मागदाबीसहितको उजुरी श्रम कार्यालयमा दर्ता गरेका थिए । उजुरीकै आधारमा श्रम कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेर श्रम कार्यालयमा ल्याएको थियो ।
कुनै व्यक्तिलाई विदेश पठाउन आधिकारिक मेनपावर दर्ता गरेर इजाजत लिनुपर्नेमा अनुसन्धान गर्दा उनीहरूले दर्ता गरेको नपाइएका कारण वैदेशिक रोजगार ऐन आकर्षित हुने श्रम अधिकृत सञ्जेलको भनाइ छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा १० ले कसैले पनि मेनपावरको इजाजत नलिइकन कसैलाई विदेश पठाउने वा सो सँग सम्बन्धित काम गर्न रोक लगाएको छ । यदि गरेमा निजलाई सोही ऐनको दफा ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्षदेखि ७ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।