धरान/ धरान रङ्गशालामा जारी मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा तेह्रथुम शीर्षस्थानमा उक्लिएको छ ।

आफ्नो अन्तिम खेलमा भोजपुरलाई ५–० गोलअन्तरले पराजित गर्दै तेह्रथुमले ४ खेलबाट ८ अङ्क प्राप्त गरी शीर्षस्थानमा रहेको हो । प्रतियोगितामा तेह्रथुमले ६ गोल खाएर १२ गोल गरेको छ ।

१ खेल खेल्न बाँकी रहेका टिम सुनसरी र धनकुटाको समान ५ अङ्क छ । अन्तिम खेलमा सुनसरी र धनकुटा दुवै टोलीले ४ गोल अन्तरभन्दा बढीले विजयी भए मात्रै तेह्रथुम दोस्रो चरणमा प्रवेश गर्न सक्दैन ।

शनिबार भएको पहिलो खेलमा सुनसरीको धरान फुटबल क्लब र धनकुटाको बौद्धिक विकास समितिले १–१ गोलको बराबरी खेलेका थिए । धनकुटाका सञ्जय रम्तेल र धरानका अरुण धामीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरानका गोलरक्षक सचिन श्रेष्ठ घोषित भए ।

शनिबार नै भएको दोस्रो खेलमा तेह्रथुमले भोजपुरलाई ५–० गोलअन्तरले पराजित ग¥यो । तेह्रथुमका तर्फबाट विमल गुरुङ र सन्तोष लिम्बूले २–२ गोल गरे भने रोशन लिम्बूले एक गोल गरे ।

खेलको म्यान अफ द म्याच तेह्रथुमका विमल गुरुङ घोषित भए । आज (आइतबार) को पहिलो खेलमा सङ्खुवासभा र धनकुटाबीच हुने र दोस्रो खेल भोजपुर र सुनसरीबीच हुनेछ । आजै प्रतियोगिता समापन हुने आयोजकले जानकारी दिएको छ ।