इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले एक महिनाको बीचमा ३ पटक माफी मागेका छन् ।
पटक–पटक विवादमा आएका उनी फेरि अर्को विवादका कारण माफी मागेका हुन् । उनले शुक्रबार विज्ञप्ति जारी गरी फेरि माफी मागेका हुन् । उनले महिला दिदीबहिनीसँग माफी मागेका हुन् । बुधबार इटहरीको एक कार्यक्रममा महिलाप्रति लक्षित गर्दै आपत्तिजनक भनाइ राखेका थिए । प्रमुख चौधरीले विज्ञप्ति निकालेर उक्त कार्यक्रममा आफूले बोलेका केही शब्दहरूले तमाम नेपाली आमा दिदीबहिनीको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गर्दै क्षमायाचना गरेका हुन् ।

उनले इटहरीको समृद्धि र विकास महिला दिदीबहिनीको सहयोगबिना सम्भव नभएको बताए । मेयरले इटहरीको विकास र समृद्धिमा महिला दिदीबहिनीको महत्त्वपूर्ण साथ सहयोगका लागि आह्वान गरेका छन् । विज्ञप्तिमा इटहरी उपमहानगरपालिका इटहरीका बेथिति, कुरीति र भ्रष्टाचारविरुद्ध लडिरहेको जनाए । इटहरीमा मौलाउँदो यौनधन्दालाई नरोकी समुन्नत इटहरी निर्माणको परिकल्पना अधुरो रहने पनि उनले जिकिर गरेका छन् । उनले यसअघि २ पटक माफी मागिसकेका छन् ।