रङ्गेली । छुद्र अभिव्यक्तिका कारण पटक–पटक विवादमा आएका इटहरीका मेयर द्वारीकालाल चौधरीले महिलाहरूको चरित्रहत्या गरेको भन्दै प्रदेश–१ की सांसद विन्दीया कार्कीले आपत्ति जनाएकी छन् ।
नेपाली काङ्ग्रेसकी सांसद कार्कीले शुक्रबारको प्रदेशसभा बैठकको शून्य समयमा द्वारिकलाल चौधरी नेकपाले ‘डामेर छाडेको साँढे’ भन्दै प्रश्न गरेकी थिइन् । उनले भनिन् ‘यो पाटीमा जे पनि बोल्न पाइने रहेछ भनेर युवाहरू ओइरने भए ।’ सांसद् कार्कीले मेयरले महिलामाथि लागाएको आक्षेप संसदमा उच्चारणसमेत गर्न नसक्ने बताइन् । ‘मेयरलाई सुधार्नु प¥यो ।’ सांसद कार्कीले भनिन् ‘हैन भने पागलखानामा भर्ति गर्नुपर्छ ।’ उनले सत्ता पक्षका महिला सांसद्हरूले उक्त विषयमा मौनता साँधेको प्रति आश्चर्य प्रकट गरिन् । उनले भनिन् ‘उहाँहरू मन्त्री हुन पाइँदैन भनेर नबोल्नु भएको होला ।’
छुट्टै कार्यालय स्थापना माग
शून्य समयमा बोलेका अर्का सांसद् विमल कार्कीले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि छुट्टै कार्यालयको व्यवस्था गर्न माग गरे । उनले स्थानीय तहको आफ्नै काम भ्याई–नभ्याई भएको बेला निर्वाचन क्षेत्र विकासको कार्यक्रमलाई बोझ ठान्ने गरेको बताए ।
त्यसैगरी सांसद् सूयर्माराज राईले यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा लिने वातावरण बनाउन माग गरेका थिए । त्यसै गरी उनले इट्टाको मूल्य घटाउन पनि माग गरे ।