भद्रपुर। झापाली बामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय द्रोणप्रसाद आचार्यको २६ औं स्मृति दिवसको अवसर पारेर पूर्वमन्त्री तथा काँङ्ग्रेस नेता केशवकुमार बुढाथोकी सहित ४ जना राजनीतिक योद्धालाई सम्मान गरिएको छ ।
द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपाल झापाको आयोजनामा शुक्रबार चन्द्रगढीमा आयोजित कार्यक्रममा जनपक्षीय उम्मेद्वार भइ पञ्चायतको निरङकुश शासन व्यवस्था ढालेर प्रजातन्त्र स्थापनामा योगदान दिएको भन्दै काँङ्ग्रेस नेता बुढाथोकी, किशान आन्दोलनका अग्रणी व्यक्तित्व भीम कुँवर, कानुन व्यवसायी लीला उदासी खनाल र हरिप्रसाद अधिकारीलाई सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वलाई प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन कुमार घिमिरेले दोसल्ला र सम्मान पत्रले सम्मान गरे ।
प्रतिष्ठानका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षता तथा प्रदेश सामाजिक विकास मन्त्री घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानलाई ५ जना दाताले ३ कठ्ठा ११ धुर जग्गा दान दिएको घोषणा समेत गरेका थिए । प्रतिष्ठानका लागि भद्रपुर ९ मा हर्कमाया भट्टराईले एक कठ्ठा एकधुर, भगवान पौडेलले एक कठ्ठा, घननाथ भट्टराइ, कुमारी रसाइली र तुलसा ढुङ्गेलले जनही १० धुर जग्गा प्रदान गरेको घोषणा गरेका थिए ।