दमक/ हरेक मान्छेमा आ–आफ्ना सोख हुन्छन् । ती सोखमध्ये केही अनौठा हुन्छन् । यस्तै एउटा अनौठो अनि सुन्दा पनि आङ सिरिङ्ग हुने सोख लिएर सोही काम गरिरहेका झापाका एक व्यक्ति हुन् श्यामकुमार प्रधान ।

उनको सोख अनौठो र जो कसैका लागि चुनौतीपूर्ण पनि छ । उमेरले ६६ वर्ष पुगेका झापाको अर्जुनधारा नगरपालिका–५ का श्यामकुमार प्रधानको दैनिकी विषालु सर्पसँग खेलेर बित्ने गरेको छ ।

प्रधान व्यवसायिक नभए पनि सजिलैसँग सर्प समाउन सक्छन् । समातेका सर्पहरू झोलामा राखेर घर ल्याउँछन् र सर्प पाल्नका लागि आफैले बनाएको खोरमा राख्छन् । अनौठो कुरा त के छ भने उनले समातेका ती सर्प केही दिन पालेपछि जङ्गलमा नै लगेर छोडिदिने गर्छन् । प्रधानको २० वर्षयता सर्प समाउने, घरमा पाल्ने र जङ्गलमा छाड्ने गरेको उनले बताए ।

गोमन, करेत, राजासाप लगायत विषालु सर्प समाएर नजिकैको दहीझोडा सामुदायिक वनमा छोड्ने गरेका छन् । उनले यो काम गरेको २० वर्ष भइसकेको छ ।

प्रकृतिले हामी सबैलाई साझा पृथ्वी दिएको हो, हामीलाई असर पार्छ भन्दैमा सर्प मारिहाल्न नहुने प्रधानको तर्क छ । । सम्पूर्ण जनावारको बाँच्न पाउने हकको सबैले सम्मान गर्नुपर्ने र पर्यावरणीय सन्तुलनको लागि विषालु सर्पको भूमिका महत्वपूर्ण हुने प्रधानको भनाइ छ ।

घरपरिवारका सदस्यले पटक–पटक यस्तो काम नगर्न आग्रह गरेको उनी सुनाउँछन् । श्रीमती, दुई छोरा–बुहारी र दुई नाति–नातिनाका धनी प्रधानले उनीहरूको आग्रह अस्वीकार गरे र सर्प समाउने कामलाई निरन्तरता दिए । प्रधानकी श्रीमती मीरालाई भने सर्पसँग अति नै डर लाग्दो रहेछ । तर आफ्नै श्रीमान्ले सर्प समाएर घरमा ल्याउन थालेपछि भने अहिले उनलाई पनि बानी परिसकेको छ ।

२००९ सालको नागपञ्चमीको दिन जन्मिएका श्यामलाई देख्ने बित्तिकै सर्प आफै लट्टिने गरेको उनी सुनाउँछन् । शुरुमा साधारण बाँसको लठ्ठीले सर्प समाउने गरेको भए पनि अहिले उनले अमेरिकाबाट ल्याइएको स्नेक क्याचर (सर्प समाउने उपकरण) को सहायताले सर्प समाउने गरेका छन् ।

मान्छेले लाखौं रुपैयाँमा कुकुर, खरायो किनेर पाल्छन्, त्यो सोखकै लागि हो । तर प्रधानले सर्प समाएर उद्धार गर्दै आएका छन् । यो सोख मात्र नभएर आफ्नो धर्म पनि भएको उनको तर्क छ ।

खोर बनाउनबाहेक सर्प समाएर कुनै आर्थिक व्ययभार व्यहोर्नु नपरेको उनको भनाइ छ । डिस्कोभरी, एनिमल प्लानेटजस्ता च्यानलमा सर्प समातेको देखेपछि त झन् आफूलाई यसमै केन्द्रित हुन मन लागेको उनले बताए ।

वातावरणीय सन्तुलन जोगाउन आफू लागिपरेको बताउँदै प्रधानले अहिलेसम्म यो अभियानमा कतैबाट सहयोग नपाए पनि यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।