पथरी/ अपराध र सवारी दुर्घटनाको चुनौतीलाई न्यूनीकरण गर्न मोरङको कानेपोखरी मुख्य चोकमा सिसीक्यामेरा जडान गरिएको छ ।

सोमबार कानेपोखरी अस्थायी प्रहरी चौकीमा एक कार्यक्रमबीच कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले क्यामेराको मनिटरको स्वीच अन गर्दै उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर शिवप्रसाद पोख्रेल, इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक सुवास भट्टराई, इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव निरीक्षक मणिराम कोइराला, कानेपोखरी वडा नम्बर–७ का अध्यक्ष मोहनप्रसाद अधिकारी र वडा नं. ५ को वडाध्यक्ष चरण गुरुङ लगाएको उपस्थिति रहेको थियो ।

उद्घाटन गर्दै अध्यक्ष काफ्लेले सिसीक्यामेराले अपराध र सवारी दुर्घटनाको चुनौतीलाई न्यूनीकरण गर्नेमात्र नभएर जनताको सुरक्षा पनि गर्ने बताउँर्दै कानेपोखरी–रङ्गेली सडक निर्माण सम्पन्न भएपछि बजार क्षेत्रमा पनि सिसीक्यामेरा जडान गर्ने बताएका छन् ।

कानेपोखरी गाउँपालिकामा पहिलो पटक सिसीक्यामेरा जडान गरिएकाले अपराध र सवारी दुर्घटनाको चुनौती न्यूनीकरण हुनेमा ढुक्क रहने बताए । कानेपोखरी गाउँपालिका वडा नं. ७, स्थित पूर्वपश्चिम सडक मुख्य चोकमा ४ स्थानमा सिसी–क्यामेरा जडान गरिएको हो । पूर्व–पश्चिम मुख्य सडक भाउन्ने चोकदेखि कानेपोखरी हुँदै पथरीशनिश्चरेको पथरी बजारसम्म चारकोशे जङ्गल रहेको छ ।

जङ्गलका कारण सुरक्षा चुनौतीको साथै राति सवारी दुर्घटना गराई भाग्ने सवारी चालकलाई पत्ता लगाउन समस्या हुँदै आएको थियो । यस्तै समस्याहरूबाट मुख्य सडकमा हुने अपराध न्यूनीकरण गर्ने उद्देश्यले सिसीटिभी राखिएको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव निरीक्षक मणिराम कोइरालाले बताए । आफू पथरी आएपछि कानेपोखरी चोकमा क्यामेरा राख्न पहल गरेको प्रनानी कोइरालाले बताए ।

क्यामेराको मनिटर कानेपोखरी अस्थायी प्रहरी चौकीमा राखिएको छ । कानेपोखरी गाउँपालिकाबाट २ लाख ५० हजार रकमको सहयोगले सिसीटिभी राखिएको हो । सिसीटिभी राखेसँगै सो क्षेत्रमा सुरक्षा र सवारी दुर्घटनासम्बन्धी आपराधिक क्रियाकलाप कम हुने वा फरार अभियुक्त पक्राउ गर्न सहज हुने विश्वास लिइएको छ ।