ताप्लेजुङ/ प्रविधिको प्रयोगका कारण सेवाग्राहीहरूलाई सुविधा पुग्नुपर्ने हो तर ताप्लेजुङको एक कार्यालयमा शुरु भएको प्रविधिले सेवाग्राहीलाई अझ दुःख दिएको छ । हचुवाका भरमा प्रविधिको प्रयोग गरिँदा मालपोत कार्यालय ताप्लेजुङ अस्त–व्यस्त बनेको हो । सेवाग्राही धेरै दिनदेखि काम नभएर अलपत्र छन् ।
गत जेठ २१ गते मालपोत कार्यालय ताप्लेजुङमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत् अनलाइन सेवा शुरु गरियो । जहाँ न विद्युत् नियमित छ, न त इन्टरनेटको नै भरपर्दो व्यवस्था छ । तयारी बिना थालिएको अनलाइन सेवाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले आजभोलि दैनिकरूपमा विभिन्न सास्ती पाइरहेका छन् । रोचक त के छ भने जुन दिन अनलाइन सेवा शुरु गर्ने भनिएको थियो, त्यही दिन जिल्ला सदरमुकाममा विद्युत् थिएन । त्यसको प्रत्यक्षदर्शी भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडी पनि थिए ।
दवाडीको उपस्थितिमा सुचारु गरिएको अनलाइन प्रणाली अहिले सेवाग्राही र कर्मचारीलाई निल्नु न ओकल्नु भएको छ । छोटो समयमै सम्पन्न हुनुपर्ने कामका लागि समेत सेवाग्राहीले चार दिनसम्म मालपोत कार्यालयमा कुर्नुपर्ने अवस्था आएको छ । ‘गाउँबाट आएर यहाँ होटलमा बसेको ५ दिन भयो । एउटा जग्गा पास गर्न पनि सकिएको छैन’ सिरिजङ्गा गाउँपालिकाका विवश लिम्बूले भने, ‘कर्मचारीहरूले कहिले नेट चलेन भन्छन्, कहिले विजुली छैन भन्छन् ।
हामीलाई त धेरै आर्थिक भार प¥यो ।’ बिना तयारी हचुवाको भरमा अनलाइन प्रणाली लागू गर्नुभन्दा पहिलेको नै ठीक भएको अर्का सेवाग्राही किक्र्या शेर्पा बताउँछन् । जिल्लाको दुर्गम पापुङ, याम्फुदिन, कालीखोला, ओलाङ्चुङगोलालगायतका स्थानबाट आएका सेवाग्राही समयमै काम नहुँदा आक्रोसित पनि हुने गरेको लेखापढी व्यवसायी शेरबहादुर ताम्लिङ बताउँछन् । यता अनलाइन प्रणालीमार्फत् सफ्टवेयर सञ्चालन गर्ने दक्ष कर्मचारी र पर्याप्त कम्प्युटर भए पनि विद्युत् र इन्टरनेटको समस्याका कारण विगतको तुलनामा न्यून मात्रामा काम भएको कर्मचारी स्वीकार्छन् ।
‘पहिले अफलाइनबाट काम गर्ने गरेका थियौँ । अहिले अनलाइन प्रणाली भए पनि विद्युत् र इन्टरनेट नियमित छैन’ कर्मचारी तीर्थराज नेपाल भन्छन्, ‘पहिलेभन्दा निकै ढिलाइ हुने गरेको छ । सेवाग्राही पनि धेरै गुनासो गर्नुहुन्छ । तर काम चाँडो गर्न हामीलाई नै कठिन छ ।’ कार्यालयबाट पहिले दैनिक कम्तीमा पनि २० ओटासम्म जग्गा पास हुने गरेको भए पनि अहिले दैनिक २ देखि ३ ओटा मात्र पास हुने गरेको छ ।
विद्युत् र इन्टरनेटमा देखिएको समस्या समाधानका लागि पहल भैरहेको निमित्त कार्यालय प्रमुख किशोर अधिकारी बताउँछन् । ‘हामीले यस विषयमा माथिल्लो निकायमा जानकारी गराइसकेका छौँ । माथिबाट पनि समाधान गर्ने आश्वासन दिनुभएको छ । अब चाँडै समाधान हुन्छ भन्ने आशा छ’ –अधिकारीले भने । यसरी हचुवाको भरमा अनलाइन प्रणाली लागू गरी सेवाग्राहीलाई समस्या थप गर्नुभन्दा आवश्यक उपकरण तथा अन्य आवश्यक कुराको व्यवस्थापछि मात्र यस्तो व्यवस्था लागू गर्नसके बढी प्रभावकारी हुने सेवाग्राहीको भनाइ छ ।
































