जिरोपोइन्ट /  नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले संविधानलाई दुईतिहाइ बहुमत पाएको नेकपा सरकारले संविधानको व्यवस्थालाई भत्काउने काम गरीरहेको बताएका छन् ।
नेपाली कांग्रेसको जागरण अभियानका क्रममा शनिबार धरानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले अहिलेको सरकारले संविधानको प्रावधानलाई कुल्चिएर विपरीत दलको नेता अनुपस्थित हुने मौका पारी धमाधम अदालतका न्यायाधीशहरु, निर्वाचन आयोगका प्रमुखहरु, संवैधानिक अङ्गका प्रमुखहरुको नियुक्ति गरी गैरसंवैधानिक बाटो अवलम्बन गरेको आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलिले अहिले मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई अपहरण गर्ने गरी संविधानको व्यवस्थालाई भत्काउने गरी कानुन संशोधन गर्न संसदमा लिएर गएको बताउदै न्याय क्षेत्रलाई सरकारको दवाव र प्रभावमा पार्ने प्रयत्न गरेको बताएका छन् । दुई तिहाइ बहुमतले मात्र स्थिरताको ग्यारेन्टी हुँदैन भन्दै उनले भ्रष्टाचार भएका विषयको पूर्ण छानबिन गर्नुपर्ने समेत माग गरेका छन् ।
नेपाली कांग्रेसका नगर सभापति तिलक राईले धरान उपमहानगरपालिकाको अबको बजेट प्रस्तुत गर्दा एकलौटी ढङ्गले गर्न नपाउने बताएका छन् । उनले बजेट प्रस्तुत गर्दा नेपाली कांग्रेससँग छलफल नगरी एकलौटी ढंगले गर्ने कोसिस गरेमा बजेट नै अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
उनले धरान उपमहानगरपालिकाले जनताको अधिकारलाई कुण्ठित गर्ने कार्य गरिरहेको आरोप समेत लगाएका छन् । हालसम्म धरान उपमहानगरपालिकाले नागरिक हक हितको लागि कुनै पनि कार्य नगरेको बताएका छन् । धरानमा डेँगु रोगले महामारीको रुप लिई सक्दा समेत नगरले प्रभावकारी कदम नचालेकोले नगरमा बसोबास गर्ने जनताको बाँच्न पाउने अधिकार समेत हनन भएको बताएका छन् ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३४ जना युवाहरुले नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका केन्द्रीय सदस्य महेश आचार्यले, नेपाली कांग्रेस धरान नगर सभापति तिलक राई लगायतले पार्टीमा स्वागत गरेका थिए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीको आयोजना साथसाथै नेपाली कांग्रेस धरान नगरसमिती क्षेत्र नम्बर १ व्यावस्थापनमा पहिलो चरणको जागरण अभियान समापन गरीएको हो । दोस्रो चरण भदौ २४ गते प्रारम्भ भई असोज ७ गते समापन हुने छ भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते समापन हुने छ ।