विराटनगर / नेपाल र भारतका सुरक्षा निकायका प्रमुखहरू बिच बैठक बसेको छ । विराटनगरस्थित एक होटलमा हिजो बसेको बैठकमा दुई देशका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी र प्राविधिक टोलीसमेतको बैठकमा एक वर्षको अवधिमा सिमा स्तम्भ निर्माण, मर्मत र खोजीमा भएको प्रगतिको बारेमा छलफल भएको थियो ।
दुई देश बीचको सिमाना पिलरहरु निर्माण गरिरहेको नेपाल र भारतको प्राविधिक टिमले बैठकमा मेची र कोशी नदीमा सिमा स्तम्भ निर्माणमा देखिएको समस्याको विषयमा पनि छलफल गरेको छ ।
प्रदेश १ अन्तरगत मेची, कोशीलगायत नदीहरुमा नेपाल र भारत दुई देशको सिमाना छुट्याउने स्तम्भहरु प्रत्येक वर्ष बाढीले बगाउने समस्या समाधानको उपाय खोज्नु पर्ने विषय बैठकमा प्रमुखताका साथ उठेको बैठकमा सहभाग िएक अधिकारीले जानकारी दिए । बैठकमा कोशी नदी र मेची नदी तथा कन्काई नदीमा बलियो पिलर बनाउने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । उनका अनुसार अब मेची र कोशी नदीमा ठूलो आकारका पिलर जमिनदेखि १७ मिटर तलबाट निर्माण गरेर पहिलेको भन्दा अग्लो बनाउने निर्णय भएको छ । त्यसरी निर्माण भएको पिलर केही वर्ष बाढीले बगाउन नसक्ने निश्कर्ष बैठकले निकालेको हो ।
प्रदेश १ को सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङसम्म दुई देशको सिमा स्पष्ट बनाउन दुवै देशका प्राविधिक टोलीले अघिल्लो वर्षदेखि निरन्तर काम गरिरहेको छ । एक वर्षको अवधिमा झापा र मोरङमा एक सय ७९ वटा पिलरको निर्माण तथा मर्मत भएको बैठकमा जानकारी गराइएको थियो ।
टोलीले मोरङका सिमा क्षेत्रमा हराएका केही पिलरको खोजी गर्ने र सुनसरी तर्फको काम अघि बढाउने अन्तिम तयारी गरिरहेको जनाएको छ । तराईका जिल्ला बाहेक इलाम, पाँचथर र ताप्लेजुङ तर्फ भने सिमा स्तम्भ खोजी गर्ने र नयाँ निर्माण गर्ने काम अघि बढ्न सकेको छैन ।
दुई देशको सिमाना स्पष्ट गर्न तथा हराएका र भत्किएका सिमास्तम्भहरु निर्माण गर्न पूर्व मेचीदेखि महाकालीसम्मको क्षेत्रमा चार वटा टिम सक्रिय रहेको छ । ति मध्ये नेपाल भारत वोर्डर फिल्ड सर्भे नम्वर १ टिमले पूर्वमा काम गरिरहेको छ । दुवै देशका नापी कार्यालयका प्राविधिहरुको टिमको बैठक प्रत्येक ६ ÷६ महिनामा बस्ने व्यवस्था छ ।
शुक्रबारको बैठकमा प्राविधिक टिमसहित भारतको अररिया, सुपौल र किशनगंजका डिस्ट्रिक मेजेस्ट्रीहरु तथा एसपीहरुको पनि सहभागिता रहेको थियो । नेपालतर्फ झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
बैठकमा दुई देश बीचको दशगजा क्षेत्रलाई मानवरहित बनाइराख्ने विषयमा पनि छलफल भएको थियो । प्रदेश १ अन्तरगत पर्ने बोर्डर क्षेत्रको दशगजामा ठूलो समस्या नरहेको तर अस्थायी पसल, सवारी पार्किङ गर्ने जस्ता समस्याहरु देखिने गरेकोमा त्यसको पनि समाधान खोज्नु पर्ने विषय उठेको थियो ।