इनरुवा/ सुनसरीको दोस्रो जेठो नगरपालिका इनरुवामा पछिल्लो समय खेलक्षेत्रबाट नयाँ पहिचान बनाउँदै गएको छ ।
पछिल्लो समय इनरुवा नगरपालिकाले खेलक्षेत्रमा आफ्नो फरक पहिचान बनाएको हो । नगरमा एकपछि अर्को खेदकुदका प्रतिस्पर्धाहरू भैरहेका छन् । खेल हेर्ने दर्शकको बाक्लिँदो उपस्थितिलेसमेत खेलप्रति नगरवासीको मोहलाई दर्शाएको छ । यतिबेला इनरुवा रङ्गशालामा इनरुवा इभेन्ट मेनेजमेन्टको आयोजनामा रात्रिकालीन फुटबल प्रतियोगिता भैरहेको छ, मेयर कप रात्रिकालीन वडास्तरीय फुटबल । फर्मेटका हिसाबले वडास्तरीय खेललाई सामान्य आँकलन गरिए तापनि खेलप्रति नगरपालिकाले देखाएको तदारुकतामा नगरवासीको साथ र समर्थन अतुलनीय छ । खेल रातिको ८ बजेबाट शुरु हुन्छ । मैदान भने ७ बज्न नपाउँदै लगभग भरिभराउ भैसक्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म खेलको मज्जा लिँदै आफ्नो टिमको हौसला बढाउन मैदानमा पुग्ने गर्छन् ।
मैदानको वरिपरि जडान गरिएका विद्युतीय प्रकाशले यत्रतत्र दर्शकको भीडलाई सहजै नियाल्न सकिन्छ । रातिको शीतलतामा रम्न चाहनेहरूका लागि समेत फुटबल खेल गन्तव्य बनेको छ । स–परिवार खेल हेर्न पुग्नेहरू सिटी रिक्सा र अन्य सवारी साधन चढेरै मैदान पुग्ने गरेका छन् । इनरुवा–३ सखुवागाछीकी सरिता घिमिरे खेल हेर्नका लागि बेलैमा घरको काम सकाएर तयार हुने गरेको बताउँछिन् । रातिको खेलको मज्जा नै बेग्लै रहेको उनको भनाइ छ । सविना पोखरेलसमेत रात्रिकालीन खेलको फ्यानमध्येकी एक हुन् । उनी इनरुवामा यसअघि सञ्चालन भएका क्रिकेटका साथै चालू फुटबल हेर्न नियमित रूपमा मैदानमा सपरिवार पुग्ने गरेको बताइन् । इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेल रात्रिकालीन खेलले इनरुवामा दर्शकको क्रेजलाई ह्वात्तै बढाएको बताउँछिन् । सबै वर्ग र समुदायको उपस्थितिले नगरभित्र सञ्चालित खेलको स्तरमात्रै नभई खेलका माध्यमबाट नगरलाई चिनाउने कामसमेत भैरहेको बताउँछिन् ।
खेलले नगरका दशवटै वडाका निर्वाचित जनप्रतिनिधि मात्रै नभएर उपलब्ध सांसद्सहित दलका नेता तथा कार्यकर्ता सबैलाई मैदानमा दर्शकका रूपमा उभ्याएको छ । दर्शकको भीड र खेलकुद क्षेत्रप्रतिको बढ्दो उत्साहले नगरपालिकाका लागि अवसर र चुनौती दुवैलाई समानरूपमा बाहिर ल्याएको छ । एकपछि अर्को प्रतियोगिता आयोजना गरिनु नगरको पहिचान र खेलाडी उत्पादन दुवै सवालमा सराहनीय कार्य भएको जिल्ला फुटबल सङ्घका उपाध्यक्ष हिमाल थापा मगर बताउँछन् ।
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता नगरको पहिचान खेलकुद बनिसकेको बताउँछन् । स्थानीयस्तरमा आयोजना भैरहेका प्रतियोगिताले राष्ट्रियस्तरमै चर्चा बटुलेको बताउने मेयर मेहताले राखेपले समेत सहयोग उपलब्ध गराउनेमा विश्वस्त रहेको बताए । प्रमुख मेहताले हरेक खेलका लागि नगरस्तरीय अब्बल टिम खडा गर्ने सोचअनुरूप आफू लागिपरेको बताए ।