विराटनगर/ निर्वाचन समितिले मोरङ व्यापार सङ्घको नयाँ नेतृत्व चयन गर्न निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ ।
आउँदो जेठ २४ गते हुन लागेको ३२ औं कार्यकारिणी समितिको निर्वाचनका लागि २९ जनाले मनोनयन दर्ता गराएका हुन् । कार्यकारिणी समितिका लागि उद्योगतर्फ १३, वाणिज्यतर्फ १४ र वस्तुगततर्फ दुई जना गरी जम्मा २९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले जानकारी दिए । मनोनयन दर्ता भएको उम्मेदवारीको नामावली सोमबार राति ७ बजे निर्वाचन समितिले सार्वजानिक गरेको छ ।
सङ्घको वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा र महासचिव नवीन रिजालले उद्योग र वाणिज्य दुवैतर्फ उम्मेदवारी दर्ता गरेका छन् । सङ्घको नयाँ अध्यक्ष लागि वर्तमान वरिष्ठ उपाध्यक्ष मुन्दडा, वरिष्ठ उपाध्यक्षमा रिजाल र महासचिव पदका लागि अनिल साह लगायत आकांक्षी छन् । अघिल्लो वर्ष दुई प्यानलमा विभाजित भएर निर्वाचन भएको सङ्घको नेतृत्वका लागि यस पटक भने सर्वसम्मत हुने देखिएको छ ।
सङ्घको उद्योगतर्फ मेघराज सिग्देल, सुकुमार सेन, धिरजराज पोखरेल, प्रकाश मुन्दडा, नवीन रिजाल, अमित सारडा, दिपेश सुवेदी, आशिष जाजु, पवन राठी, अनुपम राठी, सुनिल टिवडेवाला, अनिल सारडा र केशवकुमार गोयलले मनोनयन दर्ता गरेका हुन् ।
त्यस्तै वाणिज्यतर्फ अनिलकुमार साह, अरविन्दकुमार शर्मा, सुनिलकुमार बिड्ला, मनिषकुमार मारू, राजेशकुमार अग्रवाल, विकासकुमार बेगवानी, सुनिल टिवडेवाला, देवाशिष गोल्छा, प्रकाश मुन्दडा, विनित सिङ्घानिया, पवन राठी, पियुष तोदी, शुशील सुराना र नवीन रिजालले मनोनयत दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै वस्तुगततर्फ सञ्जयकुमार श्रेष्ठ र सन्तनु रेग्मीले मनोनयन दर्ता गरेका हुन् । निर्वाचन समितिले मनोनयन दर्ता भएको उम्मेदवारीको नामावली पनि सोमबार राति सार्वजानिक गरेको छ ।
सङ्घको ३२ औं कार्यकारिणी समितिको निर्वाचनको पूर्व सन्ध्यामा सङ्घका दुई सदस्यले दाबीविरोधको निवेदन जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गरेका थिए । सङ्घको निर्वाचन गराउन गठित निर्वाचन समितिले प्रकाशित गरेको नामावली सूचनामा गम्भीर त्रुटि गरेको भन्दै सङ्घका पूर्व अध्यक्ष अविनाश बोहोरा र पूर्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले शुक्रबार प्रशासनमा निवेदन दर्ता गरेका थिए । जिल्ला प्रसाशन कार्यालयले आइतबार सङ्घको निर्वाचन रोक्का गरी जवाफ माग गरेको थियो । सङ्घका पदाधिकारीले सोमबार अपरान्ह जिल्ला प्रशासनमा जवाफको पत्र पठाएर आफ्नो कार्यालयमा निर्वाचन प्रक्रिया अगाडि बढाएको सङ्घको अध्यक्ष पवनकुमार सारडाले बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले निवेदनमाथि सुनुवाई गर्दै व्यापार सङ्घको निर्वाचनका विषयमा उठेका केही प्रश्नहरूको जवाफ आएपछि निर्वाचनको प्रक्रिया अगाडि बढाउन पत्र पठाएको जानकारी दिए । ‘सङ्घबाट जवाफ प्राप्त भयो,’ उनले भने, ‘त्यसको अध्ययन, विश्लेषण गर्ने काम भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाउन सोमबार नै भनेका छौं ।’ व्यापार सङ्घ २००८ सालमा स्थापित पुरानो संस्था हो ।