धरान । पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएकाले त्यसका पछि नलाग्न नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्तालाई आग्रह गरेका छन् ।

धरानमा आज अपरान्ह अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा अध्यक्ष प्रचण्डले पार्टीको विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई आग्रह गरेका हुन् । ५ मिनेटसम्म मात्रै बोलेका अध्यक्ष प्रचण्डले अधिकांस समय मिडियाले गलत कुरा लेखिदिएकोतर्फ इंगित गरेका थिए ।

उनले दुई अध्यक्षबीचमा जोसुकैले पनि ५ वर्षसम्मै प्रधानमन्त्री बन्न सक्ने बताए । उनले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुंग्याउने दाबी गरे । धरान–१५ को इजी राइडर्स होटलमा ११ बजे कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय गरे पनि झण्डै १२ बजे मात्रै उनले प्रशिक्षण दिएका थिए । सुनसरीभरिका अगुवा कार्यकर्ताहरू भेला भएका थिए ।

किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार सम्पन्न हुन लागेको उभौलीको समापनका लागि धरान आएका हुन् ।