बेलबारी । पहिचानमा आधारित सङ्घीय गठबन्धनले नयाँ वानेश्वरमा एक हप्ते धर्ना कार्यक्रम गर्ने घोषणा गरेको छ ।
गठनबन्धन दलका अध्यक्ष तथा प्रतिनिधिहरूले शुक्रबार गृहमन्त्रालयमा जानकारी गराउँदै जेठ १२ गतेदेखि धर्ना कार्यक्रमको घोषणा गरेको हो । गठबन्धनले गोलमेच सम्मेलनको माग गर्दै प्रदेशको नामाकरण पहिचानको आधारमा नेवा ताम्सालिङ, शेर्पा, लिम्बुवान, किरात खम्बुवान, मधेश र दलित शिल्पीहरूको गैरभौगोलिक प्रदेश घोषणाको माग गरेको छ । त्यसैगरी गण्डक, कर्णाली र सुदूरपश्चिम खारेज गरेर तमुवान, मगरात, थरुहट र खसान नामाकरणको माग गरेको छ ।
गृहमन्त्रालयलाई बुझाएको पत्रमा काठमाडौंका नेवारहरूको जमिन, भाषा, साँस्कृतिक र सम्पदामाथिको दमन र अतिक्रमण बन्द गर्न माग गरेका छन् । त्यसैगरी खस समुदायलाई आदिवासीमा सूचीकृत गरी खस आर्यको समानुपातिक क्लष्टर अलग–अलग गर्न माग गरेको छ । साथै तामाङ जाति भएकै कारण राज्यको निकायमा निषेध गरिएकोले न्याय सिद्धान्तको आधारमा क्षतिपूर्तिसहित राज्यको मूलप्रवाहमा सहभागी गराउन माग गरेको छ । त्यसैगरी रेशम चौधरीको रिहाइको माग गरेका छन् ।
गठबन्धनमा नेवा राष्ट्रिय पार्टी, नेवा राजनैतिक अभियान, नेपाल साँस्कृतिक पुनर्जागरण अभियान, खसान राष्ट्रिय सङ्घर्ष समिति, आदिवासी जनजाति पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, माननीय रेसम चौधरीको रिहाइ अभियान, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध घटकहरू रहेका छन् ।































