इनरुवा । १२ औं गणतन्त्र दिवसको अवसरमा सुनसरीमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ ।

जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपालराज भण्डारीको संयोजकत्वमा बसेको बैठकले गणतन्त्र दिवसको अवसरमा जेठ १४, १५ र १६ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । जिससको कार्यकक्षमा आयोजित भेलामा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अलावा इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलसहित जिल्लास्थित सुुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायत सरोकारावालाहरूको उपस्थिति रहेको थियो ।

बैठकको निर्णयअनुसार जेठ १४ गतेबाट तीनदिन साँझ दीपावली गर्ने, १५ गते बिहान प्रभातफेरीमा सहभागी हुने र गणतन्त्र दिवसकेन्द्रित अन्तरक्रिया तथा संवाद कार्यक्रम आयोजना गरिनेछ । बैठकले जिल्लाका १२ वटै स्थानीय तहलाई विविध कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने निर्णयसमेत गरिएको जिसस सुनसरीका प्रमुख गोपाल राजभण्डारीले बताए ।

इनरुवा नगरपालिकाको सवालमा भने मूल समारोह समितिसँगको समन्वयमा कार्यक्रमहरू आयोजना हुनेछन् । नगरपालिकाको आयोजनामा कविता प्रतियोगिता सञ्चालन हुनेछ भने नारी साझा मञ्च, प्रगतिशील समाज सुनसरी र हाम्रो सहयात्रा मञ्च नामक संस्थाको अगुवाइमा १५ गते साँझ लोकतान्त्रिक चौकदेखि शहीद चोकसम्म दीपावली गर्ने कार्यतालिका तय गरिएको नारी साझा मञ्चकी अध्यक्ष सरिता घिमिरेले जानकारी दिइन् ।