मधुमल्ला । मोरङको उर्लाबारी–१ मा रहेका क्रसर उद्योग हटाउन आन्दोलन गरिरहेका स्थानीयबासी र क्रसर सञ्चालकबीच झडप भएको छ ।
शुक्रबार स्थानीयबासीको विरोधका बावजुद उर्लाबारी–१ स्थित पञ्चेश्वर क्रसर उद्योग सञ्चालन भएपछि उनीहरूबीच झडप भएको हो । उर्लाबारी–१ मा सञ्चालित मापदण्ड विपरीत क्रसर हटाउन माग गर्दै गत चैत्र १५ गतेदेखि स्थानीयवासी निरन्तर रिले अनसनमा छन् ।
क्रसर उद्योग सञ्चालन गरेपछि मापदण्ड विपरीतका क्रसर कुनै पनि हालतमा सञ्चालन गर्न नदिने भन्दै स्थानीयबासीले क्रसर उद्योगभित्रै पुगेर अवरोध सिर्जना गरे । बिहानैदेखि क्रसर उद्योग सञ्चालन गरेपछि स्थानीयबासीले अवरोध सिर्जना गर्न खोज्दा झडप भएको थियो । झडपमा पञ्चेश्वर क्रसर उद्योगमा कार्यरत तीनजना कर्मच।री घाइते भएका छन् । घाइते हुनेमा उर्लाबारी–१ का चित्रबहादुर गौतम, शेरबहादुर गौतम र थर नखुलेका इटहरीका खगेन्द्र स्थानीय गोदावरी हस्पिटलमा सामान्य उपचारपछि घर फर्केका छन् ।
गम्भीर घाइते भएका उर्लाबारी–७ का युवराज ढकाललाई भने उर्लाबारीमा उपचार सम्भव नभएपछि विराटनगर स्थित नोबेल अस्पतालमा लगिएको पञ्चेश्वर क्रसर उद्योगका सञ्चालक प्रकाश खड्गीले बताए । उनको ३ वटा दाँत झरेको, ओठ र पछाडि टाउकोमा गहिरो चोट लागेको खड्गीले बताए । बाटोमा मोटरसाइकलमा सवार क्रसरका कामदारलाई स्थानीयले कुटेपछि झडपको स्थिति उत्पन्न भएको थियो । प्रहरी आएपछि साम्य भई क्रसर सञ्चालन गरेको थियो । त्यसपश्चात् स्थानीयहरू भित्र पसेर ढुङ्गामुढा गरेको खड्गीले बताए । उनी भन्छन्, ‘हामीले अदालतको आदेशबमोजिम क्रसर चलाएका हौं ।’ उनले स्थानीय राजनीतिक दलका नेताहरूले क्रसरमा बिना लगानीको शेयर मागेको र त्यसमा कुरा नमिलेपछि सोझा जनतालाई धर्नामा अगाडि सारेको दाबी गरे ।
जिल्ला समन्वय समितिले निर्णयहरू गोजीमा बोकेर हिँड्नुले पनि यो स्थिति पैदा भएको क्रसर सञ्चालक खड्गीको अरोप छ ।
स्थानीयले भने कुनै हालतमा क्रसर उद्योग सञ्चालन गर्न नदिने भन्दै क्रसर उद्योगमै धर्ना दिएका थिए । केहीबेर प्रहरीको सहयोगमा क्रसर उद्योग सञ्चालन भए पनि दिउँसो बन्द भएको क्रसर उद्योग हटाउ समितिका संयोजक सम्बरबहादुर राईले बताए । एउटै वडामा हाल सञ्चालनमा आएका २ र सञ्चालनको तयारीमा रहेका ३ वटा क्रसर उद्योगका कारण मानव बस्तीमा असर पुगेको भन्दै ३ महिनादेखि निरन्तर आन्दोलन गरिरहेको उनले बताए । जिल्ला समन्वय समिति मोरङले अनुगमन समिति गठन गरी स्थलगत अनुगमन गरिसके पनि जेठ ५ गते दिने भनिएको प्रतिवेदन हालसम्म सार्वजनिक गरेको छैन ।
उर्लाबारी नगरपालिका–१ मा पूर्वेली र पञ्चेश्वर क्रसर उद्योग सञ्चालित छन् भने पाथीभरा क्रसर, सिद्धार्थ एग्रिगेट र मिक्लाजुङ–९ मा देवीस्थान मिनिरल्स उद्योग संरचना निर्माण तथा सञ्चालनको तयारीमा छन् । मापदण्ड विपरीत सञ्चालन भएका क्रसरका कारण खानेपानी मुहान सुकेको, खेतीयोग्य जमिन, बस्ती र विद्यालयमा असर गरेको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा छन् । प्रदेश सरकारको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले उर्लाबारीको क्रसरबारे जिल्ला प्रशासनलाई पत्र पठाई जानकारी मागेको थियो । सरकारलाई क्रसर हटाउन आग्रह गर्दा चासो नदिएपछि स्थानीयबासी प्रदेश सरकारसमक्ष पुगेका थिए ।
































