सिरहा / सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका कर्मचारी कार्यालयमै कुटिएका छन् । कार्याकक्षमै रहेर काम गरिरहेको बेला ओभरसियर छेदीकुमार साफीलाई कल्याणपुर नगरपालिका– ७ रमपुरा भेडियाका दिपेन्द्र यादवसहित आएको समूहले हातपात गरेको हो ।
गत भदौ–असोजमै कल्याणपुर–७ कै आधारभुत विद्यालय रमपुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका दिपेन्द्र यादवसँग ‘कामको सम्झौता र कार्यादेश ल्याउनुस् अनि मात्र मूल्याङ्कन हुन्छ’ भने पछि यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसियर छेदीकुमार साफीले बताए । उनले भने –‘नगरसँग कुनै सम्झौता छैन, कार्यादेश छैन, के को आधारमा मूल्याङ्कन गर्ने भन्न नपाउँदै उनीहरुले गालामा झापड हाने ।’
यता नगर प्रमुख सूर्यनाथ मण्डलले पनि आफूलाई उनले कुन बजेटबाट काम गरेको हो भन्ने विषयमा जानकारी नभएको बताए । झापट हान्नु गलत भएको उनले बताए ।
यता दिपेन्द्र यादवले आफूले गरेको कामको मूल्याङ्कन गर्न पटक पटक भन्दा पनि नमाने पछि हिजो विवाद भएको वेला एक थपड हानेको स्वीकार गरेका छन् । कर्मचारीमाथि कुटपिट भए पछि बुधबार कल्याणपुर नगरपालिकामा कर्मचारीहरुले विहानै देखि कामकाज ठप्प पारेका थिए ।