धनकुटा/ एक नम्बर प्रदेशको मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय आइतबार धनकुटामा स्थापना भएको छ ।
मुख्यमन्त्री शेरधन राईले यातयात व्यावस्था सेवा कार्यालय र मुख्यमन्त्रीको सम्पर्क कार्यालयको एकसाथ उद्घाटन गरे । केहीदिनअघि विराटनगरमा बसेको मन्त्रिपरिषद् बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।
दुई कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री राईले विकासमा नयाँ मोडल आवश्यक रहेको छ । अहिलेको मोडलबाट विकास सम्भव नभएकाले नयाँ मोडल आवश्यक रहेको बताए । उनले आवश्यक परेको खण्डमा सम्पर्क कार्यालयमा मन्त्रिपरिषद्को बैठकसमेत बस्ने बताए । साविक पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको छ ।
त्यस्तै यातायात व्यवस्था सेवा कार्यालय धनकुटा नगरपालिका–४ लोकसेवा मास्तिर रहेको साविकको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको मातहतमा रहेको स्वास्थ्य तालिम केन्द्रमा स्थापना गरिएको छ । धनकुटासहित तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लाको सेवा क्षेत्र रहने बताइएको छ ।
































