धरान / संघीयता र गणतन्त्र नाम मात्रको भएको नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले बताएका छन् । व्रिटिस गोर्खा भूतपुर्व सैनिक संगठन (विगेसो) द्धारा शनिबार आयोजित बैचारिक सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले आदिबासी जनजाति, महिला, दलित, मधेशी र सिमान्तकृतहरुको अधिकार विनाको संघीयता र गणतन्त्र बास्तविक रुपमा नक्कली रहेको दावी गरे ।
उनले नेपालमा कम्यूनिष्टको दुई तिहाइको सरकार भए पनि त्यसले कम्यूनिष्टकै बदनाम मात्र गरिरहेको दावी गरे । ‘दुई तिहाइको दम्भ राख्ने ओलीले प्रचण्डको कुरा नसुने पछि अहिले प्रचण्ड एक्लो महसुस गर्न थालेका छन् ।’– उनले भने–‘यो उनैले भनेका हुन् । यसको अर्थ दुई तिहाइको दम्भ नटिक्ने संकेत देखिएको छ ।’ जनयुद्ध र जनआन्दोलन पछि बनेको संघीय गणतन्त्र नेपालमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जनतालाई विश्वासघात गरेको पनि बताए । ओली र प्रचण्ड कम्युनिष्ट हुन नसक्ने पनि बैद्यले आरोप लगाए ।
दुई तिहाई सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा समृद्धि, विकास र सुखी नेपालीको नारा पटक पटक लगाए पनि आर्थिक परिवर्तनका लागि केही गर्न नसकेको आरोप लगाए । उनले प्रम ओलीलाई प्रश्न गर्दै भने, ‘नाराले मुुलुक समृद्ध र सुखी हुदैन । विदेशिएका उर्वर एक करोड जनशक्तिहरु युवाहरुलाई नेपालमै रोकेर स्वदेशमै रोजगारी दिन सक्नु पर्छ ।’
बैद्यले गोर्खा भर्तीका कारण पछिल्लो समयमा आदिवासी जनजाति समुदायमा नागरिकताको समस्या उत्पन्न भएकाले समाधान गर्न बहस गर्नु जरुरी रहेको बताए । उनले भने, ‘सन १९४७ को असमान सन्धीलाई खारेज गर्न नेपाल सरकारले पहल गर्नु पर्ने हो तर विडम्बना आज व्रिटिस गोर्खाहरुले आवाज उठाइरहेका छन् ।’
धरान– १० सैनिक विश्राम भवनमा पानी परीरहेपनि वैचारिक सांस्कृतिक कार्यक्रममा गायिका मनु नेम्बाङ, गायक शम्भू राई, देशु सुहाङ, याशेली योङहाङले आफ्ना गीतहरु प्रस्तुत गरेका थिए । नृत्यङ्गना लक्ष्मि योङहाङ, नुमा शेर्पाले नृत्य प्रस्तुत गरेर मनोरन्जन दिलाएका थिए ।