धनकुटा/ धनकुटालाई बचाउन माग गर्दै शुक्रबार धनकुटेलीहरूले प्रधानमन्त्री र  मुख्यमन्त्रीलाई ज्ञापन–पत्र पठाएका छन् ।
 
धनकुटालाई राजाधानी नबनाई धनकुटालाई समाप्त गरेको, मेडिकल कलेजलगायत धनकुटालाई कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको हब बनाई धनकुटालाई पुनः जीवन्तता दिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शेरधन राईलाई जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत् धनकुटा बचाउन अभियान र धनकुटा प्रादेशिक राजधानी अभियान समितिले ज्ञापन–पत्र पठाएको हो । 
 
धनकुटा राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठ, पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष तथा राजधानी बचाउ अभियानका संयोजक राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरे, घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राई, नेपाल नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाईले हस्ताक्षर गरी ज्ञापन–पत्र धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी सुधीर साफीलाई बुझाएका हुन् । धनकुटालाई जीवन्त बनाउनका लागि तत्काल धनकुटामा मेडिकल कजेल स्थापना गर्नुपर्ने, धनकुटामा एयरपोर्टको निर्माण, प्रदेशस्तरीय विश्वविद्यालय, सिटिईभिटी, श्रम, यातायत, पर्यटन, कर, स्टाफ कजेल कार्यालयको स्थापना गर्नुपर्ने माग राखिएको छ ।
 
यसैगरी अधिकार सम्पन्न यातायात कार्यालयको स्थापनालगायत उत्तरपानी  प्राविधिक शिक्षालय र कृषि क्याम्पस पाख्रीबासलाई स्तरोन्नति गर्नुपर्ने पोलिटेक्निक इन्स्टिच्युटको स्थापना गर्नुपर्ने लगायतका महत्वपूर्ण मागहरू पूरा गराउनका लागि ज्ञापन–पत्र पठाएको नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष तथा धनकुटा बचाउ अभियानका संयोजक राजेश्वरबहादुर श्रेष्ठले बताए । धनकुटालाई मृत शहरबाट जीवन्त बनाउन प्रस्तुत गरिएका मागहरू तत्काल पूरा नगरिएमा सशक्त आन्दोलन गर्न बाध्य हुने धनकुटा प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।