जनकपुरधाम । जानकी नवमीको दिन भगवान रामजानकीको पुजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउने भएकी छन् । राष्ट्रपति कार्यालयले औपचारिक रुपमा कार्यक्रम सार्वजनिक नगरेपनि सुरक्षा अधिकारीहरुका अनुसार सोमबार विहान १० बजे उनी हेलिकोप्टरबाट जनकपुर आउने कार्यक्रम छ ।

जानकी नवमीको अवसरमा जानकी मन्दिरले विशेष कार्यक्रमहरुको आयोजना गरेको छ ।रामजानकी विवाहमहोत्सवको अवसरमा भव्य कार्यक्रम र रामनवमीमा समेत यहाँ विशेष कार्यक्रम हुने गरेको छ ।केहि वर्षदेखि जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकी नवमीलाई १५ दिवसिय विविध कार्यक्रमहरुको आयोजना गरी मनाउन थालेका हुन् ।नवरात्रा देखि छठिहार(न्वारण)सम्मको कार्यक्रम समावेश गरिएको छ ।

जनकपुरको जानकी मन्दिर परिसरमा आज बिहीबारबाट जानकी नवमी महामहोत्सव सुरु भएको छ । महोत्सवको पहिलो दिन राम कथा प्रवचन, नवाह रामायण पाठ र बेलुका बधाई मंगलगानको कार्यक्रम गरिनेछ । महन्त दासका अनुसार जन्ममोत्सवको विशेष कार्यक्रम बैशाख ३० गतेदेखि सुरु हुन्छ ।

जानकी नवमीमा यसपटक शोभायात्रा, दुधमती साही स्नान, रामायण मेला, राम र सीतालाई केन्द्रित गरी कवि गोष्ठी, रामायणमा आधारीत प्रश्नोत्तर प्रतियोगिता, मिथिला चित्रकला सम्बन्धी प्रदर्शनी, प्रादेशिक भाषाको सांस्कृतिकसहितका कार्यक्रमहरु गर्ने आयोजकले जनाएको छ ।

नेपाल सरकारबाट पूर्ण रुपमा उपेक्षित जानकी मन्दिरमा गत वर्ष वैशाख महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वागत गरेका थिए ।उनी २०७२ साल पुस १ गते रामजानकी विवाहमहोत्सवमा पहिलो पटक राष्ट्रपति भण्डारी आएकी थिईन् ।त्यस बखत मधेशी आन्दोलनकारीहरुले विरोध गरेका थिए ।