लक्ष्मीमार्ग । बेलबारी नगरपालिकाले कानुन र न्यायिक निकायको आदेशको उपहास गर्दै शिक्षा क्षेत्रमा वेथीती बढाउने र कार्यकर्ता भर्ती गर्ने नियत राखेर अघि बढेको भन्दै नेपाली कांगे्रसले आपत्ती जनाएको छ ।
कांग्रेस नगर समिति बेलबारीले विहिबार नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै संविधान र कानुनको अवज्ञा हुनेगरी भएका कार्यहरु तुरुन्त बन्द गर्न माग गरेको छ । बेलबारी नगरपालिकाबाट जारी भएको शिक्षा व्यवस्थापन कार्यविधि विद्यमान शिक्षा ऐन र नियमावली मिचेर ल्याइएको कांग्रेसले स्मरण गराएको छ । यसरी ल्याएको कार्यविधिका आधारमा संघिय ऐन अनुसार गठन भएका विद्यालय व्यवस्थापन समितिहरु भंग गरेको विषयमा असन्तुष्टी रहेकै बेला कार्यविधि तत्काल कार्यन्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको अवस्थामा समेत नगरपालिकाले कानुन मिच्ने क्रम जारी राखेको कांग्रेसको दावी छ । गत बैशाख ९ गते आएको अदालतको अन्तरिम आदेश अनुसार शैक्षिक व्यवस्थापन कार्यविधि अनुसार गठन भएका विद्यालय व्यवस्थापन समिति निष्क्रिय रहेको र संघिय ऐन र नियमावली अनुसार नै गठन भएका समितिहरु सक्रिय रहेको कांग्रेसको तर्क छ ।
उच्च अदालतले अर्को फैसला नगरेको अवस्थामा समेत गैरकानुनी ठहरिएका समितिलाई सक्रिय गराउने र गैरकानुनी रुपमा समिति गठन गरी आफ्नो कार्यकर्ता भर्ती गर्ने कार्य भएको भन्दै कांग्रेसले आपत्ती जनाएको छ । नेपाली कांग्रेस बेलबारी नगर समिति संयोजक शम्भु भट्टराई,सहसंयोजकहरु चेतराज बस्नेत र बद्री मण्डलले बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका पराजुलीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए । कांगे्रसले जायज मागहरु अघि सार्दा वेवास्ता नगर्न र सहिष्णुतालाई कमजोरी नठान्न संयोजक भट्टराईले आग्रह गरे ।