धरान । प्रदेश १ को स्थायी राजधानी अन्ततः विराटनगर नै तोकिएको छ । प्रदेशसभा गठन भएको झण्डै १६ महिनापछि मात्रै प्रदेश १ ले स्थायी राजधानी प्राप्त गरेको हो ।

प्रदेश १ को स्थायी राजधानी बनाउने प्रस्तावमा बहुमतले विराटनगरको पक्षमा स्वीकृति दिएका थिए । प्रदेशसभामा ९३ जना सांसद् छन् । जसमध्ये ६ जना अनुपस्थित रहेका थिए । ८६ जनाले विराटनगरको पक्षमा मतदान गरेका थिए ।

विपक्षीमा शून्य मत परेको थियो । यसअघि नेकपाका निरन राई र कांग्रेसका सांसद् लीला सुब्बाले धनकुटालाई राजधानी बनाउनुपर्ने प्रस्ताव संसद्मा दर्ता गराएका थिए । तर, आज भने विराटनगरको पक्षमा नै मतदान गरेका थिए ।

नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले गरेको प्रस्तावलाई सर्वसम्मतले पारित गरेको थियो । उक्त परिणामलाई सभामुख प्रदीपकुमार भण्डारीले सुनाए । उनले प्रदेश १ को स्थायी राजधानी विराटनगर नै तोकिएको घोषणा सुनाए ।

विराटनगरलाई स्थायी राजधानी तोकिए पनि प्रशासनिक संरचना भने इटहरी, विराटनगर र सुन्दरहरैचालाई दिने उल्लेख छ । वृहत् विराट क्षेत्र अन्तर्गत व्यवस्थापिका इटहरीमा दिने तयारी गरिएको थियो । तर, सोमबारदेखि विराटनगर महानगरपालिकाको अगुवाइमा अनिश्चितकालीन आन्दोलन शुरु भएको थियो । जसमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरलाई नै संरचना दिने भन्ने आश्वासन दिएपछि आन्दोलन फिर्ता लिएका थिए ।

यस्तै राजधानीको कुनै पनि संरचना धरानलाई नदिएको भन्दै धरानबासी पनि आन्दोलित बनेका थिए । सोही आन्दोलनको कारण आज बिहान झडपको स्थिति सिर्जना भएको थियो । जहाँ दुई विद्यार्थी नेता घाइते बनेका थिए ।