काठमाडाैं / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ कार्यशैलीका साथ ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गर्दैछ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गरी यही वैशाख २५ गतेदेखि शुरु हुने राष्ट्रिय जागरण अभियान नयाँ शैलीका साथ मुलुकसँगै विदेशका ३३ देशमा सञ्चालन हुने जानकारी दिएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय जागरण अभियान वैशाख २५ देखि जेठ २५ गतेसम्म प्रथम चरण, भदौ २४ (बिपी जयन्ती)देखि असोज १० गतेसम्म दोस्रो चरण र पुस ७ देखि पुस १६ गतेसम्म (राष्ट्रिय एकता तथा मेलमिलाप दिवस) तेस्रो चरण सञ्चालन हुने जानकारी दिनुभयो । अभियानअन्तर्गत भिन्न भातृ संस्था भिन्न मुद्दाका कार्यक्रम, ७७ जिल्लामा एकसाथ उद्घाटन, आशन ग्रहणमा परम्परागत शैलीको अन्त्य, स्वागत र विसर्जनबाहेक केबल तीन वक्ता रहने उनले बताए ।
विषय प्रवेश, महिला वक्ताको मन्तव्य, प्रमुख अतिथिको मन्तव्य रहने र कार्यक्रमको मूल ब्यानर र प्रचार सामग्री देशव्यापीरुपमा सबै तहमा एउटै हुनेछ । प्रवक्ता शर्माले यस अभियानमा व्याज वितरण र धेरै तौलको मालाले स्वागत गर्ने परम्पराको अन्त्य हुने बताए । उनले भने, “अभियानका लागि मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरी १२ भाषामा पार्टीको जागरण गीतको व्यवस्था गरेका छौँ ।” अभियानको प्रारम्भ हुने दिन वैशाख २५ गते अलगअलग प्रदेशका जिल्लामा प्रमुख नेताले सम्बोधन गर्ने छन यसबीचमा पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको गठन, शपथ ग्रहण र दुईदिने बैठकमार्फत जागरण अभियानलाई अझ प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रम प्याकेज घोषणासमेत गरिएको उहाँले जानकारी दिए ।
त्यस्तै पार्टीको केन्द्रीय अनुशासन समितिले जागरण अभियानलाई अनुशासित र व्यवस्थित बनाउने उद्देश्यका साथ पार्टी हितविपरीतका गतिविधि कोहीबाट पनि नहुन् भन्ने अभिप्रायका साथ ‘डेमोक्र्याटिक लयर्स एशोसियसन’को राष्ट्रव्यापी संरचनालाई पर्यवेक्षण अभिभारा सुम्पिइएको काङ्ग्रेसले जनाएको छ । काठमाडौँमा रहेका काँङ्गे्रसका ५१ जिल्ला सम्पर्क समितिको भेला पार्टी केन्द्रीय कार्यालयको संयोजनमा केन्द्रीय कार्यालयमा भएको र भेलाले अभियानलाई तीव्रता दिन महत्वपूर्ण प्रस्ताव पारित गरेको प्रवक्ता शर्माले जानकारी दिए । अभियानका लागि काङ्ग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाइसकेको जनाएको छ ।