रङ्गेली । नेपाली काङ्ग्रेसले पनि छुट्टै प्रस्ताव दर्ता गराएको छ । उसले ऐतिहासिक शहर विराटनगर नै राजधानी हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएको हो । नेपाली काङ्ग्रेसका तर्फबाट प्रमुख सचेतक केदार कार्कीको प्रस्तावमा शिवनारायण गनगाईं, विन्दिया कार्की र जयराम यादवले समर्थन गरेका छन् । नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले विराटनगर राजनैतिक इतिहास बोकेको थलो भएकोले प्रदेश १ को राजधानी विराटनगर हुनुपर्ने बताए ।
उनले बृहत् विराटक्षेत्रको नाममा राजधानी अन्यत्र लैजाने कुरा मान्न नसकिने बताए । उनले स्थायी राजधानी विराटनगर साथै कार्यपालिका र व्यवस्थापिका पनि विराटनगरमै राख्नु पर्ने बताए । उनले अझै पनि समय रहेकोले सहमतिको लागि बाटो खुल्ला रहेको बताए । प्रदेशको राजधानीको लागि सर्वदलीय बैठक बसेको भए पनि त्यसमा सहमति भने जुट्न सकेन । सहमतिबाटै अन्तिम निष्कर्षमा पुग्ने भने पनि प्रतिपक्षी दल र सत्तापक्षको बीचमा सहमति जुट्न नसकेको हो । नेकपाले ल्याउने प्रस्तावको आधारमा अगाडि बढ्ने भन्दै आएको नेपाली काङ्ग्रेसले आफ्नो अलग्गै प्रस्ताव दर्ता गराएको हो ।
नाम अर्को अधिवेशनबाट
प्रदेश १ को नामले भने हिउँँदे अधिवेशनमा प्रवेश नपाउने भएको छ । प्रदेशको नामको लागि सत्तापक्षका सांसद्बाटै भिन्न–भिन्न मत आएकोले नामलाई थाती राखेर स्थायी राजधानी मात्र टुङ्गो लगाउन प्रदेश सरकार लागिपरेको छ । नामको विषय भने आउने अधिवेशनबाट टुङ्गो लगाइने आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
नेपाली काङ्ग्रेसले पनि संसद्मा स्थायी राजधानीको लागि मात्र प्रस्ताव दर्ता गरेको छ । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले नामको लागि प्रस्ताव दर्ता नगरिने बताए । आज (सोमबार) बस्ने प्रदेशसभाको बैठकले प्रस्तावमाथि छलफल गर्नेछ । प्रदेशको नाम र राजधानीको दुईतिहाई सांसद्ले टुङ्गो लागाउन सक्ने संवैधानिक व्यवस्था रहेको छ । प्रदेश १ को संसद्मा नेकपाको दुईतिहाई सांसद् रहेका छन् ।