रङ्गेली । निक्कै दिनको रस्सा–कस्सीपछि नेकपाको संसदीय दल विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी तोकेर इटहरी र सुन्दरहरैंचामा पनि संरचना निर्माण गर्ने निष्कर्षमा पुगेको छ ।
आइतबार बसेको संसदीय दलको बैठकले विराटनगरलाई राजधानी तोक्दै व्यवस्थापिका र कार्यपालिकालगायतका अन्य संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचाको आसपास क्षेत्रमा निर्माण गर्ने निर्णय गरेको हो ।
राजधानी विराटनगरमा राख्ने र संरचनाहरू विराटनगर, इटहरी र सुन्दरहरैंचामा निर्माण गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । नेकपाले उक्त प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको छ । बुद्धिकुमार राजभण्डारीले प्रस्ताव गरेका थिए । समर्थकमा लिलम बस्नेत, विजयकुमार ओझा, सावित्रा रेग्मी र यशोदा अधिकारी रहेका छन् । यसअघि बृहत् विराटक्षेत्र भनिए पनि आइतबारको संसदीय दलको बैठकले बृहत् विराटक्षेत्र भने हटाएको छ ।
आफ्नै दलविरुद्ध प्रस्ताव
नेकपाको संसदीय दलले विराटनगरलाई राजधानी कायम राख्ने निर्णय गरे पनि नेकपाकै तीन सांसद्ले भने संसदीय दलको निर्णयविरुद्ध धनकुटामा राजधानी हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् । नेकपा सांसद् निरन राईले धनकुटाको पक्षमा प्रस्ताव गरेका छन् भने नेकपाका इन्द्रमणि पराजुली, कुसुमकुमारी श्रेष्ठ र विनादेवी राईले समर्थन गरेका छन् ।
धनकुटाकै पक्षमा अर्को प्रस्ताव पनि दर्ता भएको छ । धनकुटालाई प्रदेश १ को राजधानी बनाउनुपर्ने भन्ने नेपाली काङ्ग्रेसका सांसद् लीला सुब्बाको प्रस्तावलाई नेपाली काङ्ग्रेसकै प्रतापप्रकाश हाङ्गामले समर्थन गरेका छन् । धनकुटा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद्हरूले धनकुटालाई राजधानी कायम गर्नुपर्ने भन्दै संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।