धनकुटा । धनकुटालाई प्रदेश नंं. १ को स्थायी राजधानी बनाउने अभियानलाई शनिबारदेखि फेरि तीव्रता दिएको छ ।

विराटनगरलाई स्थायी राजधानी दिने तयारी भएपछि धनकुटालाई राजधानी बनाउन माग गर्दै आन्दोलन चर्किएको हो । धनकुटेलीहरूले धनकुटालाई प्रदेशको स्थायी राजधानी नतोकेसम्म आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन् । धनकुटामा शनिबार आयोजित राजधानी बनाउने अभियानका अगुवा वक्ताहरूले धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउनका लागि अभियानलाई सशक्त बनाउँदै आन्दोलन चर्काउने उद्घोष गरेका हुन् ।

कार्यक्रममा नेकपा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टङ्कबहादुर चौहान, अभियन्ता एवम् नेपाली काङ्ग्रेसका सचिव विजयसन्तोषी राई, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरे, धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठ, राजधानी बनाउने अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठ लगायतले धनकुटालाई राजधानी नबनाएसम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले धनकुटालाई प्रदेश नं. १ को स्थायी राजधानी नबनाएसम्म आन्दोलनको निरन्तरता दिने दाबी गरेका छन् । उनीहरूले राजधानी माग गर्दै शनिबार दिनको ३ बजेदेखि बृहत् ¥याली आयोजना गरेर धनकुटा बजार परिक्रमापश्चात् मदनचोकमा कोणसभा आयोजना गरेका थिए । बजार परिक्रमा गर्ने क्रममा उनीहरूले हिमाल, पहाड, तराई, कोही हुन्न पराइ, प्रदेश नं.१ का सम्पूर्ण जनता एक हौंलगायतका नाराबाजी गरेका थिए ।