काठमाडौं / उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति नेपालको एकता प्रक्रिया लगभग अन्तिम पुगेको छ ।
फोरमका अध्यक्ष यादव र नयाँशक्तिका संयोजक भट्टराईले आज शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकीकरण गर्ने घोषणा गर्ने तयारी अन्तिम भएको बताएका छन् ।

एकीकरण पश्चात नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ बनाउने सहमति भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भुमिका निर्वाह गर्न एकता गरिएको बताइएको छ ।
आगमी वैशाख २३ गते काठमाडौं प्रज्ञा प्रतिष्ठानमा एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ । नयाँ पार्टीको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई रहने र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव नेता विच सहमति भएको छ । वरियतामा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई पहिलो र यादव दोस्रो वरियतामा रहने छन् ।

तेश्रो वरियातामा अशोक राई परेका छन् । नेकपा एमालेबाट बाहिरिएर संघीय समाजबादी पार्टी गठन गरि संयोजक भएका राई यादवपसँग मिलेर दोश्रो वरियातामा झेर फेरी डा. भट्टराईसँग मिलेर तेश्रो वरियातामा झरेका छन् ।
फोरम र नयाँशक्ति पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य सबै यथावतै राखेर पार्टी एकीकरण गरिन लागेको हो ।
सरकारमा रहेका फोरम र नयाँँ शक्ति विच सरकार छाड्ने र बस्ने विषयमा भने निर्णय भएको छैन् । स्रोतका अनुसार संविधान संशोधनसहितका माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिने र त्यो अवधिमा माग पुरा नभए सरकार छाड्ने सहमति भएको बताइएको छ ।
प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन् ।