इटहरी/ लामो समयदेखि विवादमा आइरहने इटहरीको फोहोर व्यवस्थापन ज्युँका त्युँ रहँदै आएको छ । पछिल्ला केही वर्षयता इटहरीको फोहोर व्यवस्थापन टाउको दुखाइ बन्दै गएको सरोकारवालाहरूले बताएका छन् । ठेकेदार कम्पनी र इटहरी उपनगरपालिका जिम्मेवार नबन्दा इटहरी फोहोर व्यवस्थापनको चुनौती दिनानु दिन बढ्दै गएको छ । 
   
इटहरीको फोहोर व्यवस्थापनको चुनौती र अहिलेको अवस्था विषयक संवाद कार्यक्रममा अधिकांश वक्ताले फोहोर व्यवस्थापनको कामप्रति आक्रोस पोखेका छन् । इटहरीका वडाअध्यक्षहरूले नै इटहरी उपमहानगर फोहोर व्यवस्थापनको विषयमा निरिह रहेको आरोप लगाएका छन् । निजी कम्पनीलाई फोहोर उठाउने जिम्मा दिएको तर सो कम्पनीले काम गरे नगरेको विषयमा अनुगमन गरेर कारबाही नगर्दा इटहरीको फोहोर व्यवस्थापन हुन नसकेको वडाअध्यक्षहरूले आरोप लगाएका हुन् । फोहोर व्यवस्थापन चुस्त दुरुस्त बनाई सफा इटहरी बनाउन कार्यपालिका कठोर हुनु पर्ने सुझावसमेत दिए । 
 
इटहरी–९ का वडाअध्यक्ष भूपेन्द्र बरालले ठेकेदार कम्पनी वेष्ट एण्ड इन्भारोले सम्झौताअनुसार काम नगर्दा पनि आफूहरू निरिह भएर बस्नुपरेको बताए । उनले फोहोर उठे–नउठेको विषयमा अनुगमन गर्ने अनुगमन समिति नबन्दा समस्या लामो समयदेखि ज्युँका त्युँ रहेको बताए । 
 
इटहरी–६ का अध्यक्ष दीपक गौतमले इटहरीको फोहोर व्यवस्थापन पब्लिक पार्टनरसिपमा भइरहेको भए पनि फोहोर नउठेको गुनासो गरे । उनले नीति बनाएर कठोर नभएसम्म इटहरी सफा नहुने बताए । ‘ठेकेदार कम्पनीलाई फोहोर उठाएको शुल्क उठाउन समस्या भए हामी समन्वय गर्न तयार छौं तर फोहोर नउठाएको, गाडी नआएको, जनताको गुनासो हामी कतिन्जेल सुनिरहने ?’ –गौतमको प्रश्न थियो । 
 
इटहरी–१७ का अध्यक्ष भगवानलाल साहले ‘ठेकेदारले चुस्त–दुरुस्त काम गर्न नसक्नुको कारण के हो स्पष्ट पार्नुपर्यो । ‘हामी सधैँ नगरलाई दुर्गन्धित बनाउने पक्षमा छैनौं’ –उनले भने । इटहरीको फोहोर व्यवस्थापन लामो समयदेखि नसुल्झिएको बताए ।
 
इटहरीको फोहोर व्यवस्थापनको जिम्मा लिएको वेष्ट एण्ड इन्भारोका मानध्वज मोक्तानले घरबाट बाटोमा ल्याएर फाहोर फाल्नेलाई उपमहानगरले कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘तोकिएको स्थान र समयमा फोहोर फालिनु पर्छ । नत्र जरिवाना तोकेर कारबाही हुनुपर्छ ।’ उनले उपमहानगरपालिकाले अनुगमन नगर्दा समस्या भएको भन्दै रुट, स्थान र समय तोकिदिनुपर्ने बताए । ‘सबै जिम्मा हाम्रो मात्रै हो भनेजस्तो भएको छ, नगर सफा राख्नु सबैको दायित्व हो’–उनले भने । फाहोर उठाएको शुल्क नदिने तथा जथाभावी फोहोर फालिदिनाले समस्या भएको उनको तर्क छ । ‘हटियामा झन् समस्या छ’ –मोक्तानले भने । 
 
इटहरी उपमहानगरपालिका वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले उपमहानगरपालिकाले यात्रुलाई लक्षित गरी एक महिनाभित्र शहरमा २ सय ६९ वटा डष्टबिन राख्ने तयारी भइरहेको बताए । त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको र एक महिनाभित्रमा काम हुने बताउँदै उनले इटहरी सफा राख्न जीआईएस म्याप तयार गरिरहेको जानकारी दिए ।
 
इटहरीका मेयर द्वारिकलाल चौधरीले फोहोरको अनुगमन गर्नका लागि चाँडै नगरस्तरीय समिति बनाइने बताए । उनका अनुसार अहिले फोहोर व्यवस्थापनसम्बन्धी छुट्टै नीति बन्दै गरेकाले अनुगमन समिति र प्राविधिक समिति बनाएर फोहोर गर्नेलाई दण्ड जरिवानाको व्यवस्था गरिने बताए । मेयर चौधरीले भने, ‘अब इटहरीमा फोहोर गर्नेलाई कारबाही हुन्छ भनेर सूचना निकाल्दै छौं । इटहरी प्रवेशद्वारमा सूचनासहितको बोर्ड राखिन्छ । त्यति गर्दा पनि फाहोर गरे कारबाही गरिन्छ ।’