दमक / झापामा पहिलो पटक कन्काई नगरपालिकाले आन्तरिक बजेटमा युवा स्वरोजगार कार्याक्रम शुरु गरेको छ । यस कार्यका लागि नगरले ४७ लाख ५० हजार बजेट विनियोजन गरेको छ । हालसम्म १८ जना किसानले ३ प्रतिशत ब्याजदरमा ऋण लिएर विभिन्न व्यवसायसमेत शुरु गरेका छन् ।
सस्तो ब्याजदरमा १ लाखदेखि डेढलाखसम्म रकम कन्काई नगरपालिकाले किसानलाई प्रदान गरेको छ । रकम प्राप्त भएपछि निम्न आयआर्जन भएका किसानले उनीहरूले पराम्परागत तवरबाट गर्दै आएका कृषि तथा अन्य व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्न थालेका छन् । ऋण लिएर माहुरी पालन गर्न थालेका सुरेशकुमार गौतम माहुरीबाट पहिलो पटक नै डेढ लाख रुपैयाँको मह बिक्री गरेको बताउँछन् । नगरले उनलाई माहुरी पालनमा सहज होस् भनी थप एक लाख रुपैयाँ सरल ब्याजदरमा ऋण उपलब्ध गराएको छ । नगरबाट पाएको एक लाखले माहुरीका घार खरिद गर्न र अन्य प्राविधिक काम गर्न सहज भएको गौतमले बताए ।

किसानले बिना धितो रकम प्राप्त गरेपछि अहिले बाख्रा, बङ्गुर, गाईपालन र अग्र्यानिक तरकारी उत्पादन खेतीसमेत गर्न थालेका छन् । रकम अभावले समस्यामा परेका किसानलाई नगरले उपलब्ध गराएको युवा स्वरोजगार ऋण कार्यक्रमले धेरै टेवा पुगेको युवा किसानले बताएका छन् । मीना पाठक सिटौलाले पहिलेदेखि नै शुरु गरेको अचार उत्पादन उद्योगलाई नगरपालिकाले दिएको सहुलियतको ऋण लिएर थप आधुनिकीकरण गर्न मद्दत पुगेको बताउँछिन् । घरैमा बसीबसी अचार बनाएर बजारमा बेच्न सकिने भएपछि उनले अचार उद्योग शुरु गरेको बताइन् । तर बजारमा आफ्नो उत्पादन लैजान थालेपछि भारतबाट आउने रेडिमेट अचारसँग प्रतिस्पर्धा गर्नुपर्ने र त्यसका लागि विभिन्न प्रविधिको आवश्यकता परेको थियो । यही बेला नगरले युवा तथा महिला लक्षित स्वरोजगार कार्यक्रम अन्तर्गत बिना धितो सहुलियत दरमा ऋण पाएपछि आफ्नो अचार उद्योगलाई आधुनिक रूपमा विकास गर्न लागेको बताइन् । अचार बेचेरै उनले मासिक ३० देखि ५० हजारसम्म कमाइ गर्ने गरेको सुनाइन् ।

नगरको बजेटलाई घैलाडुब्बा साना सहकारी कृषक समूहले ६ महिने किस्तामा ३ वर्षमा चुक्ता गर्ने नियम बनाएर ऋण प्रदान गरेको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । ‘पैसा हाम्रै हो, तर नगरले नै यसरी लगानी गर्न नमिल्ने भएको हुँदा नगरमै रहेको सहकारीमार्फत् लगानी गरिएको हो’–नगरप्रमुख पोखरलेले भने । युवा तथा महिला स्वरोजगारका लागि भनेर हरेक वर्ष विभिन्न तालिमहरू सञ्चालन गरिन्छ तर त्यो तालिमपछि तालिम लिनेहरूले कुनै उपलब्धि हासिल नगरेपछि नगरले लगानी गरेर नागरिकहरूलाई व्यवसायी बनाउनका लागि यो अभियान ल्याएको बताए । के नागरिकले लगेको त्यो ऋण कति लक्षित वर्गमा पुगेको छ भन्ने ब्लाष्टको प्रश्नमा नगरप्रमुख पोखरेलले भने, ‘वडागत रूपबाट आएका निवेदकलाई हामीले फिल्डमै गएर हेरेर र सम्झौता गराएर मात्र ऋण दिने गरेका छौं । ऋण लगेपछि काम के भयो भनेर बीच–बीचमा फेरि अनुगन गर्र्छौं ।’ नेपालका ७ सय ५३ स्थानीय तहले यस्ता स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याउने हो भने विदेश जाने जनशक्ति कम हुनुका साथै राज्यले अघि सारेको समृद्ध समाज निर्माणमा टेवा पुग्ने किसानको भनाइ छ ।