उदयपुर/ उदयपुर र खोटाङ जिल्ला जोड्ने सडकको शिलान्यास गरिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ को अमिलिखर्कदेखि खोटाङ जोडिने सडकको मङ्गलबार प्रदेश सांसद विमल कार्कीले शिलान्यास गरेका हुन् ।
 
प्रदेश सरकारले ल्याएको वहुवर्षीय योजनाअन्तर्गतका पहिलो वर्षको काम शुरु गरिएको छ । ७ मिटर चौडाई र ४२ किलोमिटर लामो सडकको पहिलो चालु आर्थिक वर्षमा करिब ५ किलोमिटर काम सम्पन्न गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख (डिई) जितेन्द्रकुमार कर्णले बताए । पहिलो वर्षमा ५ किलोमिटरमात्रै काम हुने सडकको बाँकी काम तीन वर्ष भित्रमा सम्पन्न गर्ने गरी काम गर्ने डिई कर्णले बताए । ‘प्रदेशको नयाँ संरचना, अख्तियारीमा ढिलाइ भएको, केही काममै अवरोधका कारण ढिलो भएकाले बाँकी वर्षलाई सहज हुने डिई कर्णले बताए ।
 
दुई सरकारको बीच विवादका कारण समय ढिला भएकाले यस वर्ष ९१ लाख ७५ हजार ७ सय २२ रुपैयाँ ३२ पैसा बराबरको काम हुने डिई कर्णले बताए । २०७६ असार १५ गते निर्माण कार्य सम्पन्न गर्ने गरी पूर्वाधार कार्यालयले ०७५ चैत्र २० गते स्वामि नारायण÷राउत जेभीसँग सम्झौता गरेको छ । प्रदेश सरकारले आगामी वर्ष २ नम्बर प्रदेशअन्र्तगतको सप्तरी जिल्लाको महुली (अन्तरप्रदेश) जोड्ने गरी यो सडक महत्वका साथ निर्माणको योजना अघि सारेको प्रदेश सांसद कार्कीले बताए । 
 
चौदण्डीगढी नगरपालिकाको अमिलिखर्क–हडिया–ज्यामिरे–सातधारे–बेल्टार–साउने–धाप्लाङ हुँदै खोटाङ जिल्ला जोडिने सांसद् कार्कीले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा खर्च गर्ने गरी २ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । तर समयमा अख्तियारी आइनपुगेकाले र सर्वेको क्रममा केही विवाद सिर्जना भएपछि वजेट खर्चमा समस्या परेको हो । 
 
सडकको सबै काम दुई वर्षभित्र सकी तेस्रो वर्षमा कालोपत्रे गर्ने लक्ष्य रहेको सांसद् कार्कीले बताए । उनले सडक निर्माणसँगै उदयपुर, खोटाङ र सप्तरी जिल्लाका स्थानीयलाई सहज हुने बताए । प्रदेश सरकारले खोटाङका विभिन्न गाउँपालिकाका सर्वसाधारणलाई उदयपुर हुँदै तराईका जिल्लामा आवत्जावत् गर्न सहज हुने हेतुले सडकको योजना अघि सारेको सांसद् कार्कीले बताए । निर्वाचन क्षेत्र जोडिएका जिल्लामा प्रदेश सरकारले अन्तर जिल्ला र अन्तर प्रदेश जोड्ने सडकलाई प्राथामिकतामा राखेर योजनाअघि सारेको उनले बताए ।