जेनेभा/ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको सङ्ख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ ।

दादुराको दुईवटा खोप लगाउँदा यस रोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको सङ्ख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाइ छ । ‘विश्वभरबाट सङ्कलित प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी ३०० प्रतिशतले बढेको पाइयो’ –डब्लुएचओले भनेको छ ।

‘विगत दुई वर्षदेखि नै दादुराका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको थियो र त्यसैको निरन्तरता अहिले पनि देखिएको छ’ डब्लुएचओको वक्तव्यमा भनिएको छ, ‘सङ्कलित तथ्याङ्क प्रारम्भिक विवरण हो, तर यसले बढ्दो प्रवृत्तिलाई सङ्केत गरेको छ । धेरै देशमा दादुराका बिरामी निकै ठूलो सङ्ख्यामा देखिएका छन् ।’

विश्वका सबैजसो क्षेत्रमा दादुराका बिरामी पाइएको छ । यस वर्ष विश्वका १ सय ७० देशबाट सङ्कलित तथ्याङ्कमा एक लाख १२ हजार १ सय ६३ जनामा दादुरा पाइएको छ । गत वर्ष १ सय ६३ देशको तथ्याङ्कमा २८ हजार १ सय २४ जनामा दादुरा देखिएको थियो ।

हावाबाट सङ्क्रमण हुने दादुराबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने र शरीरमा राता फोकाहरू उठ्ने गर्दछ । कतिपय अवस्थामा समयमै उपचार नभए घातक हुने गर्दछ । धेरै विकसित देशमा दादुरा रोग उन्मूलन भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दादुरा विरुद्धको पहिलो खोप ८५ प्रतिशतले कमी भएको छ भने करिब ६७ प्रतिशतले मात्र दोस्रो खोप लिने गरेका छन् ।