विराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले अब देश निर्माणको बाटोमा सँगसँगै अगाडि बढ्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश एकको विराटनगरमा शुक्रबार भएको दास्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले उच्च मनोबलका साथ समृद्धिको बाटोमा सँगसँगै हिँड्न आग्रह गरेका हुन् ।
प्रदेश सरकारको पहिलो वर्ष उत्साहजनक नरहेको स्वीकार गर्दै उनले शून्यबाट शुरु भएको प्रदेश सरकारले सङ्घबाट प्राप्त हुने न्यूनतम् संरचना पनि ढिलो गरी प्राप्त गर्दा सोचेअनुरूपको काम गर्न नसकेको बताए । विस्तारै प्रदेश सरकारले गति लिइरहेको बताउँदै उनले देशमा राजनीतिक स्थिरता कायम भएकाले लगानीकर्ताहरू लगानी गर्न इच्छुक देखिएको बताए ।
लगानी सम्मेलनमा आएका लगानीकर्ताहरू पनि यहाँको झञ्झटिलो कानूनी प्रक्रियाका कारण झञ्झट मानिरहेको बताउँदै उनले नयाँ कानूनहरू बनाउन सरकार लागिपरेकोे उल्लेख गरे ।
उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रका रूपमा अगाडि बढाउन नसके देशमा रोजगारी सिर्जना गर्न नसकिने बताए ।