रङ्गेली । समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा वर्ष दिनदेखि सञ्चालन हुँदै आएको प्रदेश १ को संसदीय समितिको बैठक अब भने सभापतिले नै गर्ने भएका छन् ।
प्रदेशसभाका सातवटा विषयगत समितिमा ज्येष्ठ सदस्यबाट काम चलाउँदै आएका समितिले शुक्रबार भएको निर्वाचनसँगै सभापति पाएका हुन् । ‘मिनी’ संसद्को रूपमा लिइने समितिको सभापति निर्विरोध चयन भएका हुन् ।

एक नम्बर प्रदेशसभा सचिवालयका निमित्त सचिव तथा मुख्य निर्वाचन अधिकृत अम्विकाप्रसाद चौंलागाईंले सातवटै विषयगत समितिका सभापतिहरू निर्विरोध चयन भएको बताए ।
न्याय, प्रशासन तथा विधायन समितिमा इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिमा अर्जुन राई, अर्थ समितिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिमा शिवनारायण गन्गाईं, सामाजिक विकास समितिमा सरिता थापा, उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा सीता थेबे, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा सर्वध्वज साँवा सभापतिमा चयन भएको मुख्य निर्वाचन अधिकृत चौंलागाईंले जानकारी दिए ।

एक नम्बर प्रदेश सभाले २०७४ चैतमा सातवटा विषयगत समिति निर्माण गरेको थियो । निर्वाचित विषयगत समितिका सभापतिहरूमध्ये लेखा समितिका शिवनारायण गन्गाईं मुख्य प्रतिपक्षी दल काङ्ग्रेसका हुन् भने अन्य सबै सत्ताधारी दल नेकपाका सांसद् हुन् ।