विराटनगर  /  १ नम्बर प्रदेश सभा अन्तर्गतका सात विषयगत समितिको सभापति निर्विरोध हुने भएको छ । समितिको सभापतिका थप उमेदवारी नपरेपछि सर्वसम्मत हुने निश्चित भएको हो ।
संसदीय समिति निर्वाचनका लागि प्रदेशसभा सचिवालयले जारी गरेको मनोनयन दर्ताका लागि दिएको बिहीबार सत्तारुढ नेकपाबाट ६ र नेपाली काग्रेसले एक समितिको सभापतिका लागि मात्रै मनोनयन दर्ता गरेपछि निर्विरोध निर्वाचित हुने भएको छ ।
समितिको सभापतिको निर्वाचन भने शुक्रबार १० बजेदेखि ५ बजेसम्म हुने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । प्रदेश सभामा दुई तीहाई मत रहे पनि नेकपाले लेखा समिति काङ्ग्रेसलाई छोडेको हो ।
नेकपाबाट न्याय प्रशासन तथा विधायन समितिमा धनकुटाका इन्द्रमणी पराजुली, अर्थ समितिमा ओखलढुंगाका मोहनकुमार खड्का, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा सुनसरीका सर्वध्वज साँवा, सामाजिक विकास समितिमा संखुवासभाकी सरिता खड्का, उद्योग पर्यटन तथा वातावरण समितिमा पाँचथरकी सीता थेवे र सुशासन तथा योजना समितिमा झापाका अर्जुन राईले सभापतिमा मनोनयन दर्ता गरेका हुन ।
सार्वजनिक लेखा समितिमा भने काङ्ग्रेसबाट मोरङका शिवनारायण गनगाईले मनोनयन दर्ता गराए । सभापतिको लागि चयन भएका मध्ये खड्का र थेबे पूर्व माओवादी हुन् भने अन्य पूर्व एमाले हुन् । पूर्व माओवादीबाट धिरेन्द्र शर्मा सभापतिको आकांक्षी रहेकोमा महिलालाई सभापति बनाउनुपर्ने भएपछि थेबेको नाम चयन भएको हो ।  एक बर्ष पछि सभापति चयन प्रक्रिया शुरू भएकाे हाे ।