सुनसरी / राजधानी दावी गरिदै आएको इटहरी उपमहानगरपालिकामा कुनै राजनीतिक सभा सम्मेलन गर्ने सार्वजनिक स्थान नभएको भन्दै संघीय समाजवादी फोरमले सडक जाम गरेर कार्यक्रम गरेको छ ।

फोरम इटहरी उपमहानगरको दोस्रो अधिवेसनको बुधबार इटहरीस्थित आइतबारे रोडमा यातायात अवरुद्ध गरि उद्घाटन गरे । संघीय सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेको अधिवेशनको सडकमा सवारी साधन अवरुद्ध गराएको विषयमा आलोचना पनि भयो । तर, आफूहरुले सडक बन्द गराउनु हुँदैन भन्दा थाहा हुँदा हुँदै मन्त्री नै आउने कार्यक्रममा सडकमा कार्यक्रम गरेको फोरमका केन्द्रीय सदस्य पदम अधिकारीले बताए ।
स्थानीय सरकारले इटहरीमा राजनीतिक सभा सम्मेलन गर्नको लागि अहिलेसम्म सार्वजनिक स्थान उपलब्ध नगराएको कारण यस्तो भौतिक पूर्वाधार तयार गर्न दबाब दिने उदेश्यले पनि सडकमै कार्यक्रम गरेको अधिकारीले ब्लाष्टलाई बताए । ‘हामीले आलोचना खेप्नु पर्छ भन्ने थाहा हुँदा हुँदै पनि स्थानीय सरकारलाई दबाब दिने उदेश्यले सडकमै कार्यक्रम गरेका हौं’ उनले भने ‘नगर समितिले हामीलाई सो विषयमा जानकारी गराएरै स्थान तय भएको हो ।’
इटहरी ४ आइतबारे रोडमा सडकमा सवारी साधन तथा मानिसललाई आवत जावत बन्द हुने गरी तयार भएको स्टेजबाट स्वास्थ्य मन्त्री यादवले व्यानर पढेर अधिवेसनको उद्घाटन गरेका थिए । संघीय समावादी फोरम नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादव सवार बा २ झ ४०२५ नम्बरको गाडी पनि कार्यक्रम स्थल नजिक बीच बाटोमै पार्किङ गरिएको थियो । आइतबारे रोड तर्फ जाने बाटो बन्द भए मुख्य राजमार्गमै सवारी साधन व्यवस्थित गर्न प्रहरी तथा ट्राफिक प्रहरीलाई समस्या भएको देखिन्थ्यो । सभाको उद्घाटनको अध्यक्षता अधिवेशन आयोजक समितिका संयोजक डिल्ली सुब्बाले गरेका थिए । अधिवेशनको बन्द सत्र विहीबार हुने आयोजकले जनाएको छ ।