पथरी । किरात राई विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नो पूर्व नेतृ सुनिता किरातीलाई प्रहरीले पक्राउ गरी वेपत्ता बनाएको भन्दै स–सम्मान रिहाइको माग गरेको छ ।

संघको केन्द्रीय अध्यक्ष बिर्सिका राई र महासचिव शोभित राईले मंगलबार विज्ञप्ति प्रकाशन गरी किरातीलाई स–सम्माना रिहाइको माग गरेको हो । सुनिता किराती संघको पूर्व केन्द्रीय परिषद सदस्य तथा संखुवासभा जिल्ला अध्यक्ष रहेको विज्ञप्तिमा उल्लेख छ । किरातीलाई गत चैत्र १३ गते काठमाडौं गौशालाबाट प्रहरीले पक्रेर वेपत्ता बनाएकोप्रति संघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

सुनिता किरातीलगायतका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी संखुवासभासम्म लगेको र त्यसपछि आफन्तहरूलाई भेट्न नदिई वेपत्ता बनाएको सूचना आइसकेको विज्ञप्तिमा उल्लेख छ । सुनिता किराती पूर्व माओवादीले चलाएको जनयुद्धको बेलादेखिकै कार्यकर्ता थिइन् । पछिल्लो पटक नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको संखुवासभा जिल्ला सदस्य भएको अभियोगमा प्रहरीले पक्रेको बुझिएको छ ।